प्रेम अधिकारी
पशुपतिनगर(इलाम) असोज १९ गते । इलाम जिल्लाका ६ स्थानमा पहिरोमा पुरिएर १८ जनाको मृत्यु भएको छ । जिल्लाका विभिन्न स्थामा गएरातीको बाढी पहिरोमा पुरिएर मृत्यु हुने सङ्ख्या १८ पुगेको हो ।
इलाम नगरपालिका वडा नं.६ घोसमा डम्बरबहादुर तामाङको घर पहिरोले पुरिदा घरभित्र रहेका ६ जनाको मृत्यु भएको छ । सूर्योदय नगरपालिका १ मानेभञ्ज्याङ्गस्थित राजु क्षेत्रीको घरमा पहिरो खस्दा ४जनाको मृत्यु भएको छ ।
क्षेत्रीको घरबाट उद्धार गरी उपचारको लागि लैजाँदै गर्दा थप १ जनाको बाटोमा नै मत्यु भएको प्रहरीले जनाएको छ ।
माइजोगमाई गाउँपालिका–६, प्याङमा एकैघरका पाँच जनाको मृत्यु भएको छ । स्थानीय धनबर सोङ्मीको घर पहिरोले पुर्दा धनबरसहित पाँच जनाको मृत्यु भएको छ । यस्तै, माइजोगमाई ६ कै किरण थेवेको घर पहिरोले पर्दा उहाँसहित तीन जना बेपत्ता भएको गाउँपालिका अध्यक्ष कुशबहादुर थेवे जानकारी दिनुभयो ।
त्यसैगरी सन्दकपुर गाउँपालिका–१, छाँगेमा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् । सन्दकपुर गाउँपालिका–३, सुलुबुङमा एक बालिका घरसहित बेपत्ता भएको प्रहरीले जानकारी दिएकोछ ।
त्यस्तै, माङ्सेबुङ गाउँपालिकामा एक गर्भवती महिला र एक पुरुष गम्भीर घाइते भएका छन्। उनीहरुको उद्धारका लागि इटहरीबाट नेपाली सेनाको हेलीकप्टर घटनास्थलतर्फ गएको बुझिएको छ ।
देउमाई नगरपालिका ५ धारेमा १ जना मृत्यु भएका छ भने देउमाई –५ धुसेनीमा २ जना जनाको मृत्यु भएको छ । त्यस्तै फाकफोकथुम गाउँपालिका ३ रातमाटेमा १ जना मृत्यु भएको छ। जिल्ला भर पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने सशस्त्र प्रहरी इलामका एसपी लोकेन्द्र सुवेदीले जानकारी दिनुभयो।
जिल्लाभर पहिरोले पुरिएको खबर छ । धेरै ठाउमा स्थानीय अलपत्र अवस्थामा छन् । पहिरोले सडक बगाए पछि सबै ठाउँमा प्रहरी पुग्न सकेको छैन । पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या बढ्ने प्रहरीले जनाएको छ । अहिलेसम्म शव फेला परेका सबैको सनाखत हुन सकेको छैन ।