विष्णुप्रसाद पोखरेल
दमक, असोज १९ गते । दुई दिन अघिदेखि आएको अविरल वर्षासँगै कन्काई, कमल, रतुवासहित झापाका विभिन्न खोलामा आएको बाढीका कारण झापामा ५ सयभन्दा बढी घरहरु विस्थापित भएका छन् । झापाका अधिकांश पालिकाहरु बाढीको जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शिवसताक्षी नगरपालिकामा सबैभन्दा बढी प्रभावित बनेको छ । साढे तीन सयभन्दा बढी घरपरिवारलाई सुरक्षित स्थलमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा गाउँपालिका, भद्रपुर नगरपालिका लगायतका पालिकाहरुमा विस्थापितहरुको सङ्ख्या बढ्दै गएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्बूका अनुसार अहिले उद्धार कार्य जारी रहेको र विभिन्न पालिकाहरुमा भएको विस्थापित तथा डुबानको बारे जानकारी लिने काम गरिरहेको छ । 'हाम्रो पहिलो प्राथमिकता उद्धार र मानवीय क्षति हुन नदिनमा केन्द्रित छ', उहाँले भन्नुभयो ।