• १९ असोज २०८२, आइतबार

जमुनाह नाका

दसैँमा दुई लाख नेपाली स्वदेश फर्किए

blog

भारतबाट दसैँ मनाउन स्वदेश फर्किंदै गरेका नेपाली जमुनाह नाकामा ।तस्बिर : सिराज खान

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, असोज १९ गते । हिन्दुको महान् पर्व बडादसैँ मनाउनका लागि यस वर्ष दुई लाखभन्दा बढी नेपाली जमुनाह नाका भएर भारतबाट स्वदेश फर्किएका छन् ।  

इलाका प्रहरी कार्यालय जमुनाहका अनुसार असोज १ देखि १६ गतेसम्म जमुनाह नाका हुँदै दुई लाखभन्दा बढी नेपाली स्वदेश फर्किएका हुन् ।

इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले सो अवधिमा जमुनाह नाका भएर करिब एक लाख मानिस नेपालबाट भारत गएको पनि बताउनुभयो । प्रहरीले पर्वलक्षित यात्रु सहायता कक्ष स्थापना गरेका कारण सीमा क्षेत्रमा आउने यात्रुका लागि सहज भएको थियो । नाकामा भिड अत्यधिक बढेपछि यात्रु ठगिने र अन्योलमा पर्ने गुनासा आएपछि प्रहरीले पर्वलक्षित सुरक्षा हेल्प डेस्क स्थापना गरेर यात्रुलाई विभिन्न सहयोग तथा सूचनाका सेवा प्रदान गरेको हो । होटेल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले भारतबाट आउनेलाई होटेल व्यवसायी, रिक्सा, अटो र गाडीचालकले समेत ठग्न थालेको गुनासो व्यापक भएपछि प्रहरीको सहयोगमा नाकामै बसेर निगरानी बढाइएको र यात्रुलाई ठगिनबाट जोगाइएको बताउनुभयो । 

विदेशमा बस्दा नेपाली सुरक्षित हुने तर आफ्नो मुलुकमा पुगेपछि ठगिने पीडा एकदमै गलत भएको उहाँले बताउनुभयो । रोजगारीको उद्देश्यले भारतको टिहरी गढवाल पुगेर दसैँ मनाउन फर्कनुभएका दैलेख नौमुलेका दीपक थापाले अर्काको देशमा गएर काम गर्न निकै गाह्रो भएको र स्वेदश आउँदा नाकामै नेपालीबाट पीडित हुनुपर्दाको तितो अनुभव सुनाउनुभयो । उहाँले अब देशमै केही काम पाउने र गर्ने वातावरण बन्नुपर्नेमा पनि जोड दिनुभयो ।