गङ्गाकुमारी मिजार
रसुवा, असोज १९ गते । रसुवाको लाङटाङ ट्रेकिङमा गएका १६ जनामध्ये ४ जना खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता बनाएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजु शाहका अनुसार असोज १७ गते लाङटाङ ट्रेकिङका लागि हिँडेका टोली १८ गते शनिबार गोसाइँकुण्ड गाउँपालिका –४ स्थित बेरिङ खोलामा दुर्घटनामा परेको हो।
खोला तर्ने क्रममा ८ जनालाई खोलाले बगाएकोमा तीमध्ये ४ जना सम्पर्कमा आएका छन् । मध्यपुर ठिमी नगरपालिका निवासी संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, सङ्गीता श्रेष्ठ र भक्तपुर नगरपालिका –१० निवासी रवि श्रेष्ठ अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ। निरीक्षक शाहका अनुसार लगातारको वर्षाले खोला बढेको हुँदा टोलीले पालैपालो खोला तर्ने क्रममा दुर्घटना भएको हो।
हाल बेपत्ता चार जनाको खोजी तथा उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।