• १९ असोज २०८२, आइतबार

सप्तकोशी नदीमा जलबहाव उच्च : कोशी ब्यारेजका ५० ढोका खोलिए

blog

धरान (सुनसरी),  असोज १९ गते ।  अविरल वर्षातका कारण सप्तकोशी नदीमा जलबहाव बढ्दै गएपछि कोशी ब्यारेजका ५०  ढोका खोलिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड ३ लाख ३५ हजार पुगेपछि ब्यारेजका ५६ ढोकामध्ये ५० खोलिएको जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान ८ ः१५ बजे सो नदीको जलबहाव मापन गरिएको थियो । आज बिहान ७ः०० बजे सो नदीको जलबहाव मापन गर्दा दुई लाख ७१ हजार ३१० क्यूसेक पुगेपछि ३९ ढोका खोलिएकोे थियो  । 

शनिबार बेलुका ८ः०० बजे पानीको प्रवाह मापन गर्दा एक लाख ९३ हजार ६० प्रतिसेकेण्ड पाइएपछि १५ ढोका खोलिएको थियो । गत भदौ १७ गते नदीमा पानीको बहाव उच्च हुँदै जाँदा कोशी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको थियो । यसपछि लगातार पानीको बहाव घटेको थियो । शुक्रबार र शनिबार लगातार बर्षा भइरहेको कारण आज बिहानदेखि सप्तकोशीमा पानीको बहाव बढ्दै गएको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो । 

कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ । सोहीअनुसार अहिले कोशी ब्यारेजमा तीन रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ ।  रासस