सामान्यतया असोजको मध्यपछि भारी वर्षाको सम्भावना न्यून हुनुपर्ने हो । आकाश खुलेर शरद ऋतुको आनन्द फैलिनुपर्ने हो । यताका वर्षमा भने मौसम अनुमानयोग्य हुन सकेको छैन । यो वर्ष असोजको मध्यपछि बर्सातको चाप झन् धेरै पर्न थालेको छ । शुक्रबारदेखि नै देशभर बर्सात भइरहेको छ । गत वर्ष असोजको १० देखि १२ गतेसम्म बाढीपहिरो र डुबानले राजधानी उपत्यका र वरपर ठुलो जनधनको क्षति भएको थियो । त्यतिबेला पनि झन्डै ४६ अर्ब रुपियाँको भौतिक क्षति भयो । यो वर्ष पनि असोज १७ देखि २० गतेसम्म उच्च सतर्कता अपनाइँदै छ । राजमार्गहरूमा जोखिम बढेको छ । धेरै राजमार्गमा रात्रिकालीन आवागमन बन्द गरिएको छ । यात्रुको सुरक्षाका निम्ति देशव्यापी रूपमै सतर्कता बढाइएको छ । खोला र नदीछेउका बस्तीमा उच्च सतर्कता अपनाइएको छ । नेपालीको सबैभन्दा ठुलो चाड बडादसैँ असोजको पहिलो साता सुरु भयो । कोजाग्रत पूर्णिमासम्म बडादसैँकै चहलपहल हुन्छ । दसैँ मनाउन घरगाउँ पुग्ने र फर्कनेको ठुलो सङ्ख्या हुन्छ । सवारी आवागमन धेरै हुने समय दसैँका बेला हो । वर्षभरिमै यातायात अर्थतन्त्र सबैभन्दा बढी चलायमान हुने समय दसैँको बेला हो । प्रतिकूल मौसमका कारण यो वर्षको दसैँमा आवागमन सहज भएन । धेरै यात्रुले दुःख र कष्ट भोग्नु परेको छ ।
देशका धेरै सडकमा यातायात अवरुद्ध भएको छ । आन्तरिक हवाई उडानसमेत प्रभावित छन् । जल तथा मौसम विज्ञान विभागले असोज २० गते अर्थात् भोलिसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको अनुमानले सचेत हुनुपर्ने अवस्था छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा अर्थात् मनसुनी वायुको प्रभाव उच्च छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा शुक्रबार र शनिबार ठुलो वर्षा भयो । कतिपय भूभागमा त मेघ गर्जन र चट्याङसहित वर्षा भयो, भइरहेको छ । सम्बद्ध निकायले मौसम प्रतिकूलताप्रति उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले असोज १७ देखि २० गतेसम्म पाँच प्रदेशमा ठुलो वर्षा र बाढीको जोखिम उच्च हुने भन्दै सबैमा उच्च सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ । स्वकीय सचिवालयमार्फत जारी वक्तव्यमा जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान उल्लेख गर्दै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा मनसुनी गतिविधि सक्रिय भई कतिपय स्थानमा ठुलो वर्षा र अति वर्षा हुन सक्नेतर्फ सचेत गराइएको छ । वर्षा र बाढीको उच्च जोखिमले गर्भवती, बालबालिका, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्तिलाई सुरक्षित स्थानमा सार्न विशेष आग्रह गरिएको छ । यसै गरी सुरक्षा निकाय र विपत् व्यवस्थापन निकायलाई उद्धार र राहतमा उच्च सक्रियतासाथ तयारीमा रहन दिइएको निर्देशनले क्षति न्यूनीकरणमा सहयोग पुग्ने छ ।
निरन्तरको बर्सातका कारण नारायणी, बागमती, कमला र कोशी नदीसहितका सहायक नदीमा पानीको सतह बढ्न सक्ने जोखिम कायमै छ । मधेश प्रदेशका महाभारत र चुरे हुँदै बग्ने स–साना नदीमा आकस्मिक बाढी र खहरे खोलाको जोखिम उच्च रहेको छ । काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, सङ्खुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, बारा, पर्सा, सर्लाही, रौतहटलगायत जिल्लामा डुबान तथा आकस्मिक बहाबको सम्भावना देखिएकाले सतर्कता आवश्यक छ । उच्च हिमाली भेगमा गएका पदयात्रीलाई पदयात्रा स्थगन गर्न सम्बद्ध निकायले अनुरोध गरेका छन् । अन्नपूर्ण, कञ्चनजङ्घा, सगरमाथा आधार शिविर आदितर्फ जाने पदयात्रीले पदयात्रा स्थगन गरी सुरक्षित स्थानतिर गएको समाचार आइरहेको छ । मौसम पूर्वानुमानले सम्बद्ध निकायलाई सचेत भई काम गर्न सहयोग गरेको छ । विभिन्न निकायले असोज १७ देखि २० गतेसम्म अति जरुरी नभई यात्रा नगर्न बारम्बार अनुरोधै गरेका छन् । कतिपय सडक तथा राजमार्गको रात्रिकालीन आवामगन बन्दै गरिएको छ । यसले जनधनको सुरक्षामा ठुलो सहयोग भएको छ । यस्तो अवस्थामा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश तथा जिल्ला विपत् व्यवस्थापन समिति, स्थानीय तह र अन्य सरोकार निकायको पूर्वतयारीको ठुलो महत्व रहन्छ । सम्बद्ध सबै निकायको सहयोग र समन्वयमा प्रतिकार्य, खोज तथा उद्धार, राहत र पुनस्र्थापनाका कार्य प्रभावकारी बनाउनु वाञ्छनीय छ ।