राधा लुइटेल
फिदिम, असोज १९ गते । निरन्तरको झरीका कारण मेचीको मध्यपहाडी र तमोर करिडोरका विभिन्न स्थानमा पहिरो गएको छ ।
पहिरोका कारण तीनवटै सडक अवरुद्व भएको छ । यो सँगै पाँचथरका विभिन्न स्थानीय तहका भित्री सडक र पुलहरुमा समेत बाढी र पहिरोले क्षति गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार मेची राजमार्ग पाँचथरकोे फाल्गुनन्द ३ रमाइलो चोक, चिज फ्याक्ट्री, पौवा चोक, चिम्फुला,र र फिदिम ३ लालिखर्कमा पहिरो जाँदा सडक अवरुद्व भएको छ ।
यसैगरी फेमे खोलामा आएको बाढीले डाइभर्सन बगाँउदा फिदिम नांगीन याङनाम सडक पूर्णरुपमा अवरोध भएको छ । यो सडक खण्डको फालेलुङ ८ मा पहिरो समेत गएको गाउँपालिका उपाध्यक्ष महेन्द्रहाङ जवेगुले वताउनुभयो ।
यता तमोर करिडोरको नावा खोला क्षेत्रमा पनि बाढी र पहिरोले सडक पूर्णरुपमा अवरुद्व भएको तामाङले बताउनुभयो । यता मध्यपहाडी राजमार्गअन्तर्गत पाँचथरको याङवरक ३ को रिजाल भीर, फलामखोला र दोभानेमा बाढी पहिरोका कारण सडक अवरुद्व भएको प्रहरीले जनाएको छ ।