• १९ असोज २०८२, आइतबार

उच्च सतर्कता अपनाउन मुख्यमन्त्रीको आग्रह

blog

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ । तस्बिर : राममणि दाहाल

मकवानपुर समाचारदाता

मकवानपुर, असोज १९ गते  । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लामो दुरीको यात्रा नगर्न र उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । असोज १८ गते शनिबार बिहानैदेखि अविरल वर्षा भइरहेको भन्दै उहाँले बडादसैँको अवसरमा टीका र आशीर्वाद ग्रहण गर्न जाने र फर्कने व्रmम चलिरहेकाले उच्च सतर्कता अपनाउन र लामो दुरीको यात्रा नगर्न आग्रह गर्नुभएको हो ।

शनिबार एक अपिल जारी गर्दै अविरल वर्षाका कारण बागमती प्रदेशका विभिन्न जिल्लाका पहाडी भूभागमा पहिरो र नदीमा पानीको बहाब बढ्दा तटीय क्षेत्रका नागरिक उच्च जोखिममा रहेको बताउनुभएको छ । 

अपिलमा भनिएको छ, “जल तथा मौसम विज्ञान विभाग र विज्ञले हाल जारी वर्षा आगामी तीन दिनसम्म नै निरन्तर रहने प्रक्षेपण गरेकाले जारी वर्षाले ठुलो जनधनको क्षति हुने सम्भावना बढेको छ । यस अवस्थामा स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले विपत्को पूर्वतयारी र जोखिम सम्भाव्य क्षेत्रको पहिचान गरी त्यस क्षेत्रका नागरिकलाई जोखिमबारे पूर्वजानकारी दिई सुरक्षित रहने वातावरण बनाउनु आवश्यक छ ।”

प्रदेशभर प्राकृतिक विपत्तिमा परेका नागरिकलाई तत्काल उद्धार, आवश्यक स्वास्थ्य उपचार, उचित राहतका साथै क्षतिपूर्ति प्रदान गर्न कुनै पनि कसर बाँकी नराख्न र तयारी अवस्थामा रहन स्थानीय तह, बागमती प्रदेश सरकार तथा सङ्घीय सरकारसँग नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले अपिल गरेको छ ।