• १९ असोज २०८२, आइतबार

बिचैमा रोकिएका गाडी चितवनबाट काठमाडौं पठाइयो

blog

चितवनको मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोलको पहिरो पन्छाएर सवारी साधन सञ्चालन हुँदै । तस्बिरः शालिग्राम नेपाल

शालिग्राम नेपाल 

चितवन, असोज १९ गते । चितवनको मुग्लिन नारायणगढ सडक खण्डको तुइनखोला पहिरो पन्छाएर सवारी साधन सञ्चालनमा ल्याइएको छ । 

शनिबार साँझ ६ बजेदेखि जिल्ला प्रशासन कार्यालय चितवनले असुरक्षित हुने भएको भन्दै सवारी साधन सञ्चालनमा रोक लगाएको थियो । आइतबार विहानदेखि पहिरो पन्छाउने काम गरेको थियो । पहिरो पन्छाएपछि विहान ८ बजेदेखि सवारी साधन सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी गाणेश अर्यालले जानकारी दिनुभयो । 

“हामीले औपचारिक रुपमा सवारी साधन सञ्चालनमा ल्याएका छैनौ” उहाले भन्नुभयो “रोकिएका र आपतकालीन सवारी साधन मात्र सञ्चालन गरेका छौ ।” अहिले नारायणगढ मुग्लिन सवारी साधन सञ्चालनमा समस्या छैन, प्रजिअ अर्यालले भन्नुभयो ।

अर्यालका अनुसार मुग्लिनदेखि काठमाडौं जाने बाटोमा पहिरो खसेकाले खुलाउने काम भइराखेको छ । मुग्लिनदेखि मलेखु र मलेखुदेखि नागढुंगासम्मको विभिन्न स्थानमा पहिरो गएकाले पन्छाउने काम भइराखेको प्रजिअ अर्यालले बताउनुभयो । 

पूर्ण रुपमा सडक सञ्चालन नभएसम्म सवारी साधन सञ्चालनमा रोक लगाइने उहाँले बताउनुभयो । अत्यावश्यक सवारी साधन, रोकिएका साधनलाई मात्र सञ्चालन गर्न दिएको अर्यालले बताउनुभयो । 

चितवनमा रोकिएका सवारी साधनलाई पूर्व र पश्चिम जान दिइएको छ । आइतबार विहानबाट सञ्चालन गर्न दिएको अर्यालले बताउनुभयो । पूर्वमा कोसीवारीसम्मका सवारी साधन सञ्चालनमा रहेको उहाँको भनाइ छ । 

अर्यालका अनुसार जिल्लामा अहिलेसम्म कुनै पनि मानवीय क्षति नभएको जानकारी दिनुभयो । सवारीसाधन रोकेर सम्भावित जोखिमलाई टार्न सकिएको उहाँले बताउनुभयो ।