समाजवादको कल्पना गर्ने इतिहास लामो छैन । १८४८ मा कम्युनिस्ट पार्टीको घोषणापत्र तयार हुनुभन्दा पहिले काल्पनिक समाजवादको चरणका रूपमा हेर्न सकिन्छ । काल्पनिक समाजवादको पहिलो चरण पुँजीवादविरुद्ध चाल्र्स फुरिये र रोबर्ट ओवेनरूले आफ्नो दृष्टिकोण अगाडि सारेका थिए । अर्का काल्पनिक समाजवादका चिन्तक हेनरी डी सेन्ट साइमन थिए । यिनै दार्शनिकले पुँजीपति वर्गले मजदुर वर्गलाई उनीहरूको जीविका चलाउन सक्ने वातावरण सिर्जना गर्नुपर्ने, उत्पादनका साधनमा सामूहिक स्वामित्व स्थापना गरिनुपर्ने जस्ता कुरा अगाडि सारे । रोबर्ट ओवेन आफैँ पनि उद्योगपति थिए । यी दार्शनिकले प्रयत्न गरे पनि काल्पनिक समाजवाद सफल हुने कुरै भएन, बरु यसले वैज्ञानिक समाजवादका लागि उत्प्रेरकको भूमिका खेलेर वर्गसङ्घर्षलाई जोडेर समाजवादको बहस अगाडि बढायो ।
काल्पनिक समाजवादको चरणमा ठुला ठुला बहस भए यसै समयमा फायरबाखले भौतिकवादी दर्शन र हेगेलको द्वन्द्ववादी दर्शनका कारण राजनीतिक अर्थशास्त्रको क्षेत्रमा देखापरेको काल्पनिक समाजवाद र राजनीतिक रूपमा यसको पहिलो प्रयोग प्र्रmान्सको राज्य क्रान्तिमा भयो । यो समय औद्योगिक पुँजीवाद विकासको रफ्तार भएकाले श्रमिक वर्ग पुँजीपतिबिचको अन्तरविरोध चर्को रूपमा देखियो । यिनै घटनाको परिणामै कार्ल माक्र्सले संश्लेषण गरेर वैज्ञानिक समाजवाद प्रतिपादन गरे ।
समाजवादी दर्शनको विकास
हेनरी डी सेन्ट, रोबर्ट र केही समाजवादको कल्पना गर्ने दार्शनिकले आफ्नो दृष्टिकोण काल्पनिक समाजवादका रूपमा अगाडि सारे भने हेगेलले समाजवादलाई बुझ्न र रूपान्तरण गर्न बहसको आवश्यकतादेखि द्वन्द्ववादी दर्शन विकास गरे । त्यसै गरी फायरबाखले समाज र जगत्लाई बुझ्न भौतिकवादी दर्शन विकास गरे । यी दुवै एक अर्काका विपरीत थिए, हेगल द्वन्द्ववादी त थिए तर भौतिकवादी थिएनन्, फायरबाख भौतिकवादी थिए तर द्वन्द्ववादी थिएनन् । यी दुवै दर्शन र काल्पनिक समाजवादको संश्लेषण गर्दै ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको व्याख्यासहित कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले कम्युनिस्ट घोषणापत्र तयार पार्दै वैज्ञानिक समाजवादी दर्शन प्रतिपादन गरे । किनकि मानिसले नै विचार दर्शन बनाएको हो । विचार/दर्शनले मानिस बनाएको होइन । त्यसैले मानिसको आवश्यकता, चेतना र भौतिक परिवेश अनुरूप विचार, दर्शनको विकास हुँदै जाने वैज्ञानिक नियम हो ।
समाजवादलाई दर्शन र अर्थराजनीतिबाट अलग राख्न सकिँदैन । आज विज्ञानलाई आवश्यकता अनुसार विकास गरेर जानुपर्ने हुन्छ । दर्शनलाई पनि आवश्यकता अनुसार चेतना र भौतिक परिवेश अनुसार अगाडि बढाउनु पर्छ । अहिलेको समाजमा समाजवाद विकासका लागि विद्यमान दुई वटा दर्शन र विश्व दृष्टिकोणबिचको बहस पनि हो । यी दुई वटा दर्शनमा पहिलो आर्दशवान (चैतन्यवाद) र दोस्रो भौतिकवादी हो । पहिलो दृष्टिकोणको दर्शन आदर्शवाद संसार कुनै अलौकिक र अदृश्य चेतना तत्वले निर्धारण नियम अनुरूप सञ्चालन हुने गरेको मान्छ । यसले मानिसलाई ईश्वरवाद, रहस्यवाद, देवीशक्तिको सिद्धान्त अन्धविश्वास गर्छन् । यो चिन्तन प्रणालीले समाजवादको कल्पनासम्म गर्न सकिँदैन र आधुनिक विकसित सुशासित व्यवस्थित र वैज्ञानिक समाज व्यवस्था यसको बाधक बनेर आउँछ । दोस्रो विश्व दृष्टिकोण त्यो भौतिकवादी दर्शन हो, यसले सृष्टि आफैँमा आदित्व हो र यो स्वनियम, द्वन्द्वका नियमद्वारा सञ्चालिन छ । मानव इतिहासले हरेक कालखण्डमा यी दुवै दर्शन अस्तित्वमा रहँदै आएका छन् ।
जहाँसम्म दोस्रो विश्व दृष्टिकोण हो, त्यो द्वन्द्वात्मक भौतिकवादमा आधारित छ र यसको विकास र विस्तारका लागि कार्ल माक्र्सलगायत संसारका धेरै दार्शनिकले इतिहासका विभिन्न कालखण्डमा वर्गसङ्घर्ष र राजनीतिक अर्थशास्त्रसँग जोडेर समाजवाद कल्पना गरेका छन् । यो दृष्टिकोणलाई विकासको गतिमा देखे पनि हिजोको विश्लेषण पद्धतिमा सीमित राख्न मिल्दैन । हामीले यसलाई यान्त्रिक भौतिकवादी आँखाबाट हे¥यौँ भने एक्काइसौँ शताब्दीको नयाँ समाजवादको कल्पना गर्न सक्दैनौँ र किनकि विश्व दृष्टिकोणको समृद्धिकरणै समाजवादको आजको दार्शनिक प्रश्न बन्न जान्छ । हो, यसलाई कसरी समृद्धिकरण गर्ने ? यो गम्भीर प्रश्न हो । प्रकृति स्वयम् एक आदितत्व हो र यसभित्र रहेको द्वन्द्वले उत्पन्न गर्ने पदार्थ, तत्व वा चेतना प्रकृतिका रूपमा रूपान्तरण हुँदै जाँदा मानव समाज विराट प्रकृतिको एउटा अंश हो । त्यसैले प्रकृतिका नियमलाई मानव जातिले बुझ्ने र त्यसलाई उपयोग गर्ने, मानव प्रकृतिभन्दा फरक र माथि होइन भनेर बुझ्नु पर्छ । हामीले प्रकृतिसँग सहज स्वाभाविक सम्बन्ध स्थापित गरेर मात्र मानव जीवनलाई सार्थक बनाउने खुसी र सुखी समाज बनाउनु नै समाजवाद हो ।
भौतिकवादी दर्शनको विकास
द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई मानिसको आवश्यकता, चेतना र भौतिक परिवेश अनुरूप विकास गरेर अगाडि बढ्नु पर्छ । यसको उद्देश्य कुनै पनि अस्तित्व, एकाइ वा परिघटनालाई एक पक्षबाट एकाङ्की रूपमा नहेर्नु, हरेक घटनालाई दुवै कोण र बहुआयामबाट विश्लेषण गर्नु र समष्टिगत रूपमा बुझ्न खोज्नु हो । चेतना र पदार्थ एक अर्काका परिपूरक हुन् । सृष्टिको यो द्वन्द्वात्मक चरित्रले हरेक घटनालाई दुवै कोणबाट हेर्नुपर्ने हुन्छ । राम्रो–नराम्रो, ठिक–बेठिक, सकारात्मक–नकारात्मक आदि कोणबाट हेरिनु पर्छ । हामीले कल्पना गर्ने समाजवादले पनि द्वन्द्वात्मक भौतिकवादी दर्शनसँग जोडिएर बहस माग गरेको छ । समाजवादी व्यवस्था, सत्ता वा सरकारको अन्त्य त्यति साह्रै खतरनाक हुँदैन जति खतरनाक हुन्छ– समाजवादी व्यवस्थापश्चात् शोषण, दमन, उत्पीडनमुक्त सुन्दर मानवीय संसार रच्ने भविष्य सपनाको अन्त्य हुनु हो ।
हो, कस्तो समाजवादी व्यवस्था बनाउने यहीँनेर बहस हो । हिजो कम्युनिस्टहरूको मान्यता थियो । दर्शनशास्त्र, राजनीति, अर्थशास्त्र र वैज्ञानिक समाजवादलाई मुख्य सङ्घटक अङ्ग मानिने गरिन्थ्यो । अहिलेको अवस्थामा यो विश्लेषणले मानव जीवनका समग्र पाटापक्ष समेट्न सकेन । विशेषतः मानव जीवनमा एकसाथ हुने अनेक तत्व जस्तै ः वर्ग, पहिचान, यौन, अहम्, ज्ञान, संस्कार आदि तत्व बुझ्न सर्वाङ्गिकतालाई त्यो अपरिहार्य थियो । वर्गसङ्घर्ष कसरी ‘सभ्यता सङ्घर्ष’ र ‘प्रवृत्ति सङ्घर्ष’ तिर मोडिँदै गएको छ भन्ने बुझ्न त्यो दर्शन पर्याप्त थिएन । अहिलेको राजनीतिक र मनोवैज्ञानिक दृष्टिले भौतिकवादमा टेकेर नयाँ समाजवाद निर्माण गर्दा यिनै विषयमा बहसको आवश्यकता खड्केको छ । दर्शनशास्त्र विज्ञानको अन्वेषण र आविष्कारसँग निरपेक्ष र स्वतन्त्र हुँदैन । वैज्ञानिक आइन्सटाइनको पनि सपना थियो, “समाजवादी व्यवस्थाको स्थापनाबाट शासनतन्त्रलाई अति शक्तिसम्पन्न, प्रभुतापूर्ण र अहङ्कारी हुनबाट कसरी रोक्न सकिन्छ ।”
व्यक्तिका अधिकारको सुरक्षा कसरी हुन सक्छ ? द्वन्द्वबाट हामीले समृद्धि भनेका छौँ, विज्ञानका पछिल्ला आविष्कार र अन्वेषणका आधारमा पदार्थ र चेतनाको स्वभावसम्बन्धी बुझाइलाई अझ परिमार्जित र विकास गर्नु हो । दर्शनशास्त्रलाई मानिसको बुझाइले निर्माण गर्छ । मानिसको बुझाइ कुनै दर्शनमा पुगेर सीमित हुँदैन, यो द्वन्द्ववादको नियम हो । मानिसको बुझाइ, बुझ्ने क्षमता विकास हुँदै जाँदा दर्शन पनि बदलिँदै जान्छ र विकास पनि हुँदै जान्छ । हामीले विज्ञानलाई हेरौँ– स्थूलबाट सूक्ष्मतर्फ, यान्त्रिकबाट इलोक्ट्रिोनिकतर्फ, मानव तथा यन्त्रचालितबाट स्वचालिततर्फ, विखण्डितबाट सर्वाङ्कतर्फ, हार्डवयेयरबाट सफ्टवेयरतर्फ, एकल प्रणालीबाट व्यक्तिकृत प्रणालीतर्फ मोडिँदै गएको छ ।
भौतिकवादी दर्शनको आधारभूत रूपमा विकास गरेर परम्परागत बुझाइलाई अझ परिस्कृत बनाएको पाइन्छ । हामीले विज्ञानको यो विषयलाई एक्काइसौँ शताब्दीमा निर्माण गर्ने समाजवादसँग जोडेर हेरिनु पर्छ । समाजवाद निर्माणमा हामीले सिद्धान्त र जीवन केलाई रोज्ने भन्ने प्रश्न पनि उठ्न सक्ला । सिद्धान्तले सृष्टिका अंशलाई व्यक्त गर्छ भने जीवनले जगत्को सञ्चालन गरिरहेको हुन्छ । तसर्थ जीवन र सिद्धान्तबिच अन्तरविरोध सिर्जना भइरहन्छ । त्यतिखेर हामीले सिद्धान्तभन्दा जीवनलाई रोज्नु पर्छ । हामीले भौतिकवादी दर्शनको विकासलाई हेर्दा पुरातन जैविक/दैविक चिन्तन, यान्त्रिक, आधुनिक औद्योगिक चिन्तनमा मात्र सीमित नरहेर राजनीतिक, आर्थिक, सामाजिक रूपान्तरणमा पनि ध्यान पु¥याउनु पर्छ । हामी एक्काइसौँ शताब्दीको पहिलो चरणमा छौँ । हामीले विगतका चिन्तन, प्रक्रिया, विश्लेषणबाट अगाडि बढ्नु गलत हुने छ । हामीले नयाँ युगको विशेषतालाई एक्काइसौँ शताब्दीका विशेषतालाई पहिचान गरी तदनुरूप बहस गर्दै अगाडि बढ्न नितान्त आवश्यक छ ।
अन्त्यमा, हामीले माक्र्सवादी दर्शनबिना समाजवाद कल्पना गर्न सक्दैनौँ । माक्र्सको जीवनकालमा कम्युनिस्ट घोषणापत्र (१८४८) र साम्यवादी दर्शनबिचमा ठुला बहस भए । २० औँ शताब्दीमा लेनिन, ट्राट्स्की, स्टालिन, माओ, कास्त्रो, चे–ग्वेभारासहित अधिक रणनीतिकारले माक्र्सवादी दर्शनको व्यवस्था आफ्ना–आफ्ना तरिकाबाट गरेको पाइन्छ । इटलीका प्रखर माक्र्सवादी व्यवस्थाप्रति असहमति प्रकट गरेका थिए । वामपन्थी इतिहासकार हाब्सवामले आफ्नो पुस्तक माक्र्स, माक्र्सवाद, समाजवाद र साम्यवाद र पुँजीवादीबारे ऐतिहासिक विश्लेषण गरेर माक्र्सवाद गतिशील जीवन दर्शन हो, यसलाई विकास र समृद्धिकरण गर्न सकिने बताए । यो दर्शनलाई यान्त्रिक दर्शनबाट बुझ्ने र लागू गर्ने भनेको माक्र्सवादबाट विचलित हुनु हो । माक्र्सवाद हाब्सवामले भनेजस्तै यथास्थितिमा होइन, यो दर्शन, मनन र बौद्धिकतामा मात्र सीमित नरहेर निरन्तर शक्तिशाली राजनीतिक आन्दोलन पनि हो । २० औँ शताब्दीको दशकमा यो शक्तिशाली क्रान्तिकारी दर्शनका रूपमा रह्यो र यसको प्रभाव नेपाल तथा दक्षिण अमेरिकी देशमा पनि प्रभाव बढ्यो । त्यसैले समाज विकास र रूपान्तरणलाई भौतिकवादी भएर सोच्ने र द्वन्द्ववादी भएर बहस गरेरै नयाँ समाजवाद निर्माण गर्न सकिन्छ ।