सचिन पोख्रेल
इटहरी, असोज १९ गते । सुनसरीको सोनापुरस्थित नेपालकै सबैभन्दा ठुलो जुटमिल अरिहन्त मल्टी फाइबर्स लिमिटेड डुबानमा परेको छ। स्थानीय ट्याङ्ग्रा खोलामा आएको बाढी उद्योगमा पसेपछि उद्योग डुबानमा परेको हो।
उद्योग डुबानमा पर्दा २० करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको उद्योगका प्रमुख कार्यकारी अधिकृत गोविन्द बजगाईंले जानकारी दिनुभयो । अविरल वर्षापछि स्थानीय ट्याङ्ग्रा खोलामा आएको बाढी उद्योग परिसरमा पस्दा त्यहाँ रहेको तयारी जुट सामग्री, कच्चा पदार्थ र मेशिनरी उपकरणहरू पूर्ण रुपमा डुबानमा परेको प्रमुख कार्यकारी अधिकृत बजगाईंको भनाइ छ।
नेपालको सबैभन्दा ठूलो जुटमिलको रुपमा रहेको अरिहन्तमा करिब ५ हजार मजदुर तथा कर्मचारीहरू कार्यरत छन् । त्यहाँ तीन सिफ्टमा २४ सैं घण्टा काम हुने गर्दथ्यो। अहिले उद्योग परिसर डुबानमा परेर पुर्ण रूपले प्रभावित भएपछि काम बन्द भएको बताइएको छ ।
त्यसैगरी सुनसरी मोरङ औद्योगिक कोरिडर अन्तर्गत त्यस क्षेत्रमा रहेका अन्य साना उद्योग तथा मानव बस्ती पनि डुबानमा परेको छ। यस क्रममा त्यस क्षेत्रको जनजीवन प्रत्यक्ष प्रभावित भएको छ।