गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज १९ गते । नेपाली चलचित्र ‘मालती मङ्गले’ को छायाङ्कन सम्पन्न भएको छ । कार्यकारी निर्माता सागर ज्ञवालीले ३१ औँ दिन सोमबार छायाङ्कन कार्य औपचारिक रूपमा समाप्त भएको बताउनुभयो । उहाँका अनुसार छायाङ्कन तनहुँ र स्याङ्जा जिल्लाका सुन्दर भूभागमा गरिएको हो ।
रानी म्युजिक इन्टरनेसनल प्रालिको ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा बनेको यो चलचित्रका निर्माता रामकृष्ण ढकाल हुनुहुन्छ । सहनिर्माता बाबु सुवेदी, रविन श्रेष्ठ, बेदना कर्माचार्य श्रेष्ठ र स्वीकृती बस्नेत रहनुभएको छ । निर्माता ढकालले चलचित्रलाई स्तरीय र समाजसँग जोडिने भावनात्मक कथा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले दर्शकलाई आत्मीयतासहितको पारिवारिक प्रेमकथा दिने बताउनुभयो । चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गर्नुभएको छ । कथा स्वयं पाण्डेयकै लेखन हो भने पटकथा तथा संवाद गुरागाईंले तयार गर्नुभएको छ । यस चलचित्रमा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल मुख्य भूमिकामा हुनुहुन्छ ।
यसै गरी जीवन शाहीको लेखन तथा निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘स्त्री’ को छायाङ्कन सकिएको छ । काठमाडौँ आसपासमा छायाङ्कन गरिएको चलचित्रको एउटा गीत बाँकी राख्दै अन्य सम्पूर्ण दृश्यको छायाङ्कन सकिएको निर्देशक शाहीले बताउनुभयो । मेला रेकर्डिङ स्टुडियोको ब्यानरमा समीर राई निर्माता रहेको यस चलचित्रमा निर्देशक शाहीकै कथा रहेको छ । पटकथामा निर्देशक जीवन शाहीलाई किशन अर्यालले सघाउनुभएको छ । चलचित्रको छायाङ्कन रामशरण उप्रेतीले गर्नुभएको हो । चलचित्रमा बाबुल गिरीको सङ्गीत, प्रोजेक्ट म्यानेजरमा सुवास काफ्ले, द्वन्द्व निर्देशनमा देव महर्जन, प्रमुख सहनिर्देशकमा चन्द्र भण्डारी तथा मेकअपमा श्याम बराल, ड्रेस डिजाइन सुकनिता चौलागाईं रहनुभएको छ ।
सहनिर्माता सहदेव विष्ट, प्रमोद भट्टराई प्रतीक, रिता श्रेष्ठ, मन्जु राजबंशी रहनुभएको छ । सयौ म्युजिक भिडियो निर्देशन गरिसकेका शाहीको यो पहिलो चलचित्र हो । सामाजिक कथामा बन्ने चलचित्रमा प्रमोद अग्रहरि, सलोन बस्नेत, रिस्ता बस्नेत, नम्रता श्रेष्ठ, दिनेश डिसी, दीपा श्री निरौलाको प्रमुख भूमिका रहेको छ । बालकलाकार दिप्सन चिलवालको पनि अभियन रहेको छ । चलचित्रको पोस्ट प्रोडक्सन थालिने र छिटै प्रदर्शन मिति तोकेर प्रचारप्रसारमा लाग्ने निर्माता समीर राईले बताउनुभयो । नारी प्रदान कथामा बनेको चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ ।