• १९ असोज २०८२, आइतबार

बाढीले विपी राजमार्गको डाइभर्सन बगायो, सडक पूर्णरुपमा अवरुद्ध

blog

केदार तिमल्सिना

बनेपा, असोज १९ गते । अविरल वर्षासंगै रोशी खोलामा आएको बाढीका कारण अस्थायी रुपमा खुलाइएको विपी राजमार्गको डाइभर्सन बगाएको छ । बाढीले अस्थायी रुपमा निर्माण गरिएको डाइभर्सन बगाएपछि विपी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।

काभ्रेपलान्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले रोशी खोलामा आएको बाढीले अस्थायी रुपमा बनाइएको विपी राजमार्गको डाइभर्सन बगाएको कारण सङ्घीय राजधानी काठमाडौंलाई पुर्वी तराई र पहाडी जिल्ला जोड्ने सडक सन्जाल पूर्ण रुपमा अवरुद्ध  भएको बताउनुभयो । उहाँले विपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएपनि जिल्लामा हालसम्म बाढीपहिरो र वर्षाका कारण कुनै मानवीय क्षति भने नभएको बताउनुभयो । रोशी खोलामा आएको बाढीका कारण रोशी गाउँपालिका- ११ बुलढुंगा, डालावेशीमा करिब ११० मिटर सडक कटान गरेको, पिप्लेमा करिब ५० मिटर, कटुन्जे घुमाउनेमा करिब २० मिटर, चौकीडाँडामा करिब ६० मिटर र बोक्सीकुनामा करिब दुई सय मिटर सडक कटान गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

यस्तै अविरल वर्षासंगै मङ्गलटार, नार्के, पिन्थलीमा सडकमा लेदो खसेको प्रहरीले जनाएको छ । प्रहरी चौकी मङ्गलटारका प्रमुख प्रहरीनिरीक्षक ईश्वर कार्कीले रोसी खोलामा आएको बाढीले सडकको डाइभर्सन कटान गर्दा कतिपय स्थानमा हिँड्ने बाटो समेत नभएकोले सडक कटान कति भएको भनेर एकिन गर्न नसकिएको बताउनुभयो । काभ्रेपलान्चोकका प्रजिअ ढकालले वर्षासंगै अरनिको राजमार्गको धुलिखेल खावा सडक खण्डको धुलिखेल नजिक सडक माथिबाट ढुङ्गासहितको पहिरो आएको कारण सडक अवरुद्ध भएको बताउनुभयो । वर्षाका कारण अरनिको राजमार्गको दोलालघाट नजिक र ५४ किलोमा लेदो आएर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

शुक्रबार साँझदेखी परेको अविरल वर्षा आइतबार बिहानदेखि न्यून रुपमा परेकोले बनेपाको पुन्यमाता, पनौतीको रोशी खोलामा पानीको बहाव समेत कम भएको छ । हाललाई बनेपा-नाला-भक्तपुर सडक भने सुचारु रहेको ट्राफिक प्रहरीले जनाएको छ । अवरुद्ध अरनिको राजमार्गको पहिरो पन्छाउनका लागि हेभी इक्युप्मेन्ट मगाइएको ट्राफिक प्रहरी प्रमुख प्रहरीनिरीक्षक सुनिल धाँजुले बताउनुभयो ।