• ३१ असोज २०८२, शुक्रबार

संयुक्त राष्ट्रसङ्घीय महासभामा नेपाल

नवपुस्ताको चाहनानै सुशासन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १९ गते । यस वर्ष नेपालबाट उच्चस्तरीय नेतृत्वको सहभागिताबिनै संयुक्त राष्ट्रसङ्घको ८० औँ महासभा सम्पन्न भएको छ । जेनजी आन्दोलनपछि उत्पन्न सङ्क्रमणकालीन अवस्थाका कारण नेपालबाट उच्च नेतृत्वको सहभागिता अन्योलमा परे पनि परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालार्ई नै नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्न सिफारिस गरेको मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिनुभयो । 

उहाँका अनुसार नेपालमा जेनजी आन्दोलनपछिको अन्योलको अवस्थामा उच्च नेतृत्वको सहभागिता हुन सकेन । तथापि नेपाल सरकारको तर्फबाट मन्त्रालयका सचिव अमृतबहादुर राईले अन्तर्राष्ट्रिय सम्बन्धको मर्मलाई कायम राख्ने हिसाबले अमेरिकाको न्युयोर्कस्थित प्रतिनिधि थापालाई नै प्रतिनिधिमण्डलको नेतृत्व गर्न अनुमति प्रदान गर्नुभएको थियो । 

विश्वमञ्चमा नेपालले आफू र आफू जस्ता अतिकम विकसित मुलुकको नेतृत्व गर्दै समस्या र समाधानका उपायबारे बहस गर्ने कार्यसूची बनेको थियो । मन्त्रालयका अनुसार नेपालबाट प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायत उच्च नेतृत्वको सहभागिता पनि तय भएको थियो । जटिल अवस्थाबिच नेपालको नेतृत्व गर्दै स्थायी प्रतिनिधि तथा राजदूत लोकबहादुर थापाले नेपालको वर्तमान राजनीतिक अवस्थाबारे महासभामा अवगत गराउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जेनजी अर्थात् नवपुस्ताले गरेको आन्दोलनले पारदर्शी, जवाफदेही र जनताप्रति उत्तरदायी सुशासनमा आधारित निष्पक्ष, न्यायपूर्ण र समृद्ध राष्ट्रका लागि मार्गनिर्देश गरेको उहाँले महासभामा प्रस्ट पार्नुभएको थियो । बडादसैँको फूलपातीको राति नेपालका तर्फबाट सम्बोधन गर्नुभएको थियो । 

आन्दोलनकै परिणामस्वरूप नेपालको इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्रीले नेतृत्व पाएको खुसी पनि उहाँले महासभामा साट्नुभयो । नवगठित अन्तरिम सरकारले नेपाली जनताको ताजा जनादेश निर्माण गर्न आगामी फागुन २१ गते आमनिर्वाचन घोषणा गरेको अवगत गराउनुभयो । राजदूत थापाले भन्नुभयो, “आमनिर्वाचन हाम्रो अगाडि रहेको एक मात्र व्यावहारिक मार्ग शान्ति, लोकतन्त्र र समावेशी विकास हो ।”बहुपक्षीयताको जग र शान्ति, न्याय, मानवीय मर्यादा, साझा समृद्धि र नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाका लागि आशाको किरणका रूपमा संयुक्त राष्ट्रसङ्घको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै यसका संस्थापक मूल्यको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो । 

नेपाल विश्व शान्तिका लागि सबैभन्दा बढी शान्ति सेना पठाएर योगदान गर्ने देशका रूपमा गर्वसाथ उभिएको स्मरण गर्दै उहाँले शान्ति सेनाले विश्वका द्वन्द्वग्रस्त भागमा शान्ति र स्थिरता सुरक्षित गर्न गहन रूपमा कर्तव्य निर्वाह गरिरहेको औँल्याउनुभयो ।

जलवायु प्रकोपलगायत विश्वव्यापी सङ्कट एकैचोटि विश्व परिवेशमा मडारिरहेकोमा चिन्ता गर्दै उहाँले आतङ्कवाद अन्त्यसँगै पूर्ण निःशस्त्रीकरण हुनुपर्नेमा जोड दिनुभएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय इजरायल र हमास युद्धले गाजामा बढ्दो मानवीय सङ्कट र हमासद्वारा बन्धक बनाइएका नेपालका विपिन जोशीको तत्काल रिहा गर्न माग गर्नुभयो । अल्पविकसित राष्ट्रको वर्तमान अध्यक्ष र आर्थिक तथा सामाजिक परिषद्का अध्यक्षका साथै विभिन्न मञ्चमा सक्रिय सदस्यका रूपमा नेपालले सबैका लागि सुरक्षित, समृद्ध र दिगो विकासमा अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने नेपालको प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको थियो । असोज ७ देखि १३ गतेसम्म महासभाको उच्चस्तरीय सत्र चलेको थियो, जस अन्तर्गत विभिन्न छुट्टाछुट्टै उच्चस्तरीय सत्रमा थापाले नेपालको तर्फबाट सहभागिता जनाउनुभएको थियो । 

साथै उहाँले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पले महासभामा भाग लिने राष्ट्र, सरकार प्रमुख र अन्य क्षेत्रीय, अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिमण्डल प्रमुखहरूको सम्मानमा आयोजना गर्नुभएको स्वागत समारोहमा पनि सहभागिता जनाउनुभएको थियो । उहाँलाई सघाउँदै उपस्थायी प्रतिनिधि ज्ञानबहादुर मगरले अति कम विकसित देश, भूपरिवेष्ठित विकासशील देशलगायतको मन्त्रीस्तरीय बैठकमा सहभागिता जनाउनुभएको थियो ।