• १९ असोज २०८२, आइतबार

सुरक्षित रहन दलहरूको आग्रह

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असोज १९ गते । प्रमुख राजनीतिक दलले अविरल वर्षासँगै सुरु भएको बाढी, पहिरो र प्राकृतिक प्रकोपबाट जोगिन आह्वान गरेका छन् । दलहरूले असोज १७ गते रातिदेखि सुरु भएको भीषण वर्षा, बाढी र पहिरोको जोखिमबाट बच्न र सुरक्षित स्थानमा रहन आग्रह गरेका हुन् ।

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीका तर्फबाट विज्ञप्ति जारी गर्दै प्रतिकूल मौसमका सन्दर्भमा सूचना प्रभावकारी बनाउन, सरकार र सम्बद्ध निकायले सूचना अनिवार्य पालना गरेर सबै नागरिक सुरक्षित हुन आग्रह गर्नुभएको छ । उहाँले पहाडी भूगोल र सडकमार्ग जोखिमपूर्ण रहेकाले भारी वर्षाले प्रभावित हुने अनुमान गरिएका सडकमार्गमा यात्रा नगर्न आग्रह गर्नुभएको छ । साथै कांग्रेसले विपत्सँग जुध्न साधन, स्रोत र टिम तयारी अवस्थामा राखेर प्रतिकार्यमा प्रभावकारी ढङ्गको भूमिका तिनै तहका सरकारको समन्वयमा सम्पादन गर्न आग्रह गरेको छ ।

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलद्वारा जारी सूचनामा खोलानाला तथा नदीकिनारमा नजान, लामो दुरीको अनावश्यक यात्रा नगर्न र जोखिमयुक्त स्थानबाट सुरक्षित स्थानतर्फ सर्न अनुरोध गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका विभिन्न भागमा भारी वर्षा, बाढी, पहिरो, डुबान र भूक्षयको जोखिमलाई दृष्टिगत गर्दै जोखिमयुक्त क्षेत्रमा आवश्यक सतर्कता र सावधानी अपनाउँदै सुरक्षित रहन अपिल गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “तिनै तहका सरकारलाई तीव्र पूर्वतयारी र विपत् प्रतिकार्यमा सक्रिय हुन आग्रह गर्दछु । अन्य राजनीतिक दलले पनि बाढी, पहिरोबाट जोगिन आग्रह गर्दै सरकारलाई उद्धार र राहतमा कमी हुन नदिन ध्यानाकर्षण गराएका छन् ।