गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज १९ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गाजापट्टीमा जारी दुःखद युद्धको अन्त्यका लागि कतारले गरेको संयुक्त तथा अमूल्य मध्यस्थता कार्यप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ ।
प्रेस विज्ञप्ति जारी गर्दै महासचिव गुटेर्रेसले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तुत गरेको हालैको प्रस्तावका आधारमा बन्धकलाई रिहा गर्न र वार्तामा संलग्न हुने घोषणा गर्दै हमासले जारी गरेको बयानबाट आफू उत्साही भएको पनि जनाउनुभएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
गुटेर्रेसले गाजामा युद्ध अन्त्य गर्ने यो अवसरको सम्पूर्ण रूपमा उपयोग गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्दै तत्काल र स्थायी युद्धविराम, सबै बन्धकको तत्काल र बिनासर्त रिहाइ तथा निर्बाध मानवीय पहुँचका लागि पुनः आह्वान गर्नुभएको छ । गाजामा बन्दी बनाइएका इजरायली बन्धकका परिवारले गाजा युद्ध तुरुन्तै अन्त्य गर्न आवश्यक भएको शनिबार बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध रोक्न युद्धविराम योजनासहित आह्वान गरे पनि इजरायलले यस क्षेत्रमा आक्रमण गरिरहेको छ । हमासले सबै बन्धकलाई रिहा गर्न र ट्रम्पको शान्ति योजनाको विवरणमा वार्ता सुरु गर्न सहमत भएपछि ट्रम्पले इजरायललाई प्यालेस्टिनी क्षेत्रमा बमबारी रोक्न आग्रह गर्नुभएको थियो ।
हमासले गाजामा बन्दी बनाइएका बन्धकलाई रिहा गर्न तयार रहेको तर ट्रम्पको योजनाको विवरण र प्यालेस्टिनी क्षेत्रको भविष्यका बारेमा वार्ता गर्न चाहेको समाचार संस्था एएफपीले जनाएको छ ।
राष्ट्रपति ट्रम्पको प्रस्तावमा समावेश गरिएको आदानप्रदान सूत्र अनुसार सबै बन्धक जीवित र अवशेषको रिहाइका लागि आफ्नो स्वीकृति घोषणा गरेको हमासले शुक्रबार एक विज्ञप्तिमार्फत जनाएको हो । ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै ‘हमासले जारी गरेको वक्तव्यका आधारमा विश्वास व्यक्त गर्दै स्थायी शान्तिका लागि हमास तयार रहेको’ बताउनुभएको छ ।
हमासका एक जना वरिष्ठ अधिकारीले शनिबार ‘सबै मुद्दालाई अन्तिम रूप दिन तुरुन्तै वार्ता सुरु गर्न तयार रहेको’ बताउनुभएको छ । ट्रम्पको प्रस्तावित योजनाले शत्रुता रोक्न, ७२ घण्टाभित्र बन्धकहरू मुक्त गर्न, गाजाबाट क्रमिक रूपमा इजरायली फिर्ती र हमासको निशस्त्रीकरणको आह्वान गर्दछ ।
बन्धकलाई गम्भीर र अपरिवर्तनीय क्षति हुन नदिन राष्ट्रपति ट्रम्पको युद्ध तुरुन्तै रोक्न आवश्यक रहेको होस्टेज एन्ड मिसिङ फेमिलिज फोरमले एक विज्ञप्तिमार्फत जनाएको छ । ‘हामी प्रधानमन्त्री (बेन्जामिन) नेतान्याहुलाई हाम्रा सबै बन्धकलाई घर ल्याउन तुरुन्तै प्रभावकारी र द्रुत वार्ता सुरु गर्न आह्वान गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ ।
भारी बमबारी
ट्रम्पको अपिलका बाबजुद, गाजाको नागरिक सुरक्षा एजेन्सीले इजरायलले गाजा सहरमा निरन्तर आक्रमण गरेको तथा हताहत भएको अस्पतालले रिपोर्ट गरेका छन् । राष्ट्रपति ट्रम्पले बम विस्फोट रोक्न आह्वान गरे तापनि इजरायली सेनाले गाजा सहर र अन्य क्षेत्रमा दर्जनौँ हवाई आक्रमण र गोलाबारी गरेको नागरिक सुरक्षा प्रवक्ता महमुद बासललाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।