• १९ असोज २०८२, आइतबार

विद्यालय आश्रयस्थल बनाइँदै

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १९ गते । निरन्तर वर्षाका कारण खोलाहरूमा पानीको बहाव बढ्दै डुबानको खतरा बढेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त बस्तीका बासिन्दालाई विद्यालयमा स्थानान्तरण गर्ने कार्य सुरु गरेको छ । 

महानगरपालिकाको शिक्षा विभागले सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई विपत् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन जारी गर्दै खोलाछेउछाउका जोखिमयुक्त बस्तीमा बसोवास गर्ने बासिन्दालाई नजिकैका विद्यालयमा स्थानान्तरण गर्ने कार्य भइरहेको जनाएको छ ।

महानगरपालिकाको शिक्षा विभाग प्रमुख केशव ज्ञवालीले जोखिमयुक्त रहेका बस्ती र त्यहाँका बासिन्दालाई स्थानान्तरण गर्ने विद्यालयको सूची तयार गरी सो कार्य भइरहेको जानकारी दिनुभयो । अहिलेसम्म बाढीको कुनै दुर्घटना नभए पनि सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सतर्कता अपनाइएको उहाँको भनाइ छ । विभागका अनुसार, थली, बानेश्वर, कोटेश्वर र दोभान क्षेत्रमा स्थानीय वडाहरूमार्फत समन्वय गरी विद्यालय आश्रयस्थलका रूपमा पहिचान गरिएका छन् । 

विपत्को अवस्थामा बासिन्दालाई बस्ने, सुत्ने र ओत लाग्ने स्थान अभाव हुन सक्ने भएकाले विद्यालयलाई आधारभूत सुविधा (जस्तै : शौचालय, खानेपानी, सुरक्षित स्थान) तयार राख्न र उद्धार कार्यमा सहयोग गर्न निर्देशनसमेत दिइएको छ ।