• १८ असोज २०८२, शनिबार

उपत्यका आसपासका नदीमा जलसतह बढ्दो, उच्च सतर्कता अपनाउन अपिल

blog

अविरल वर्षाका कारण काठमाडौँ पेप्सिकोला क्षेत्रको जलमग्न भएको सडक। तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौँ, असोज १८ गते। निरन्तरका वर्षासँगै काठमाडौँ उपत्यका आसपासका नदीको जलसतह बढ्न थालको छ। जल तथा मौसम विज्ञान विभाग, खोकनामा जलमापन स्टेशनका अनुसार बागमती नदीले खतराको तह पार गरेको छ। 

विभागका बाढीविद् विनोद पराजुलीले उपत्यका आसपासका नदीमा जलसतह बढ्दो क्रममा रहेको भन्दै आज राति अझै अति भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। 

“खोकनास्थित बागमती नदीमा तीन दशमलव पाँच मिटर खतराको तह रहेकोमा हाल चार दशमलव दुई मिटर जलसहत पुगेको छ। यो क्रम निरन्तर बढ्ने भएकाले सतर्कता अपनाउन आवश्यक  छ,” उहाँले भन्नुभयो।

विभागका अनुसार काभ्रेस्थित रोसी, काठमाडौँको मनोहरा र बागमती नदी, मकवानपुरको लालबकैया नदीले जलसतह सतर्कता तह पार गरेको छ। 

बागमती र मधेस प्रदेश भएर बहने प्रायः सबै नदी–नालामा जलसतह सतर्कता तह नजिक पुगेको छ। आज साँझ र राति जोखिम थप बढ्ने पूर्वानुमान गरिएकाले तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।