अनिल पराजुली
हेटौँडा, असोज १८ गते । हेटौँडा हुँदै काठमाडौँ भित्रिने सबै बाटो तीन दिनसम्म बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिवार दिउँसो सूचना जारी गर्दै भारी वर्षा तथा अति धेरै वर्षाको कारण आउन सक्ने बाढी, पहिरो र डुवान एवम् त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित विपद्जोखिम न्यूनीकरण गर्न हेटौँडा हुँदै काठमाडौँ भित्रिने सबै बाटो असोज १८, १९ र २० गतेका लागि पूर्ण रूपमा बन्द रहने उल्लेख छ ।
सवारीसाधन आवत–जावत बन्द गरिएका कारण यात्रुहरूमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी हुँदै सो अवधिमा सुरक्षित रूपमा घरमै बस्न र विपद्सम्बन्धी आधिकारिक अद्यावधिक सूचना विभिन्न सञ्चारका माध्यमबाट प्राप्त गर्न हुन प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले अनुरोध गर्नुभएको छ ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज १८ देखि २० गतेसम्म नेपालका विभिन्न भागहरूमा हल्कादेखि अति भारी वर्षा हुने उल्लेख छ ।