• १८ असोज २०८२, शनिबार

बुद्धको जन्मस्थल गोटिहवास्थित अशोक स्तम्भ डुवानमा

blog

कपिलबस्तुको गोटिहवास्थित अशोक स्तम्भ डुवानमा । तस्विरः नारद कोहार

नारद कोहार

तौलिहवा (कपिलबस्तु), १८ गते । क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवास्थित अशोक स्तम्भ डुबानमा परेको छ । स्तम्भभएको ठाउँमा पानी निस्कने निकास नभएपछि हरेक बर्ष वर्षाको समयमा डुवान पर्ने गरेको हो । 

क्रकुछन्द बुद्धको जन्मस्थलको प्रमाणस्वरुप ऐतिहासिक महत्व बोकेकोे गोटिहवास्थित अशोक स्तम्भ अलपत्र अवस्थामा छ । अशोक स्तम्भ यसरी अलपत्र हुँदैजाँदा यो क्षेत्रको पुरातात्विक महत्व संकटमा पर्दैगएको छ ।

कपिलवस्तुको यो गोटिहवा गाउँमा क्रकुछन्द बुद्धको जन्म भएको प्रमाणित आधार पनि यो अशोक स्तम्भ हो । यस क्षेत्रमा ईसापूर्वदेखि चौथो शताब्दीसम्म मानव वस्ती रहेको प्रमाण यसै क्षेत्रबाट उत्खनन् गरिएका अवशेषबाट प्रमाणित भएको पुरातत्वविद्हरु बताउँछन् ।

यो अशोक स्तम्भमा कम्तिमा ५ फिट पानी जमेको र पानीले स्तम्भलाई नोक्सान पर्ने भएको हुँदा पनि सम्बन्धित निकायले चासो नदिएको स्थानीय रामराज दुबेले बताउनुभयो । कम्तिमा त्यस वरिपरि पिल्लर उठाएर टिनको छानो लगाइ दिएको भए वर्षातको पानीले स्तम्भ डुबान जोगाउन सक्ने उहाँको भनाइ छ ।

लुम्बिनी विकास कोषको पूर्व कार्यकारीणी सदस्य राजेश ज्ञवालीले क्रकुछन्द बुद्धको जन्मस्थल प्रत्येक बर्ष बर्षाको समयमा डुबानमा पर्दैआएको बताउनुभयो । यसको संरक्षणका लागि लुम्बिनी विकास कोष, पुरातत्व विभाग र कपिलबस्तु नगरपालिकाले सहकार्य गरी तत्काल पानी निकासको व्यवस्थापन गर्नुपर्ने उहाँको सुझाव छ । 

कपिलबस्तु नगरपालिका वडा ५ का वडाध्यक्ष दिरेपकुमार चौधरीका अनुसार वडाको बजेटले अशोक स्तम्भको बजेटले मात्र सम्भव नरहेकाले लुम्बिनी विकास कोष पुरातत्व विभागले संरक्षण गर्नुपर्ने बताउनुभयो ।

लुम्बिनी विकास कोष कपिलबस्तु सम्पर्क कार्यालयका प्रमुख मधवप्रसाद आचार्यका अनुसार बर्षाका कारण गोटिहवामा पानी जम्ने परिस्थिति निर्माण भएको बताउनुभयो । अशोक स्तम्भ डुबानमा पर्न नदिन कोषले तत्काल आवश्यक जनशक्तिको प्रयोग गरी पानीलाई निकास गर्ने योजनाका साथै यस आर्थिक बर्षमा संरक्षण गर्ने उहाँले बताउनुभयो ।