प्रतीक इच्छुक शर्मा
सल्यान, असोज १८ गते । असोज १२ गते रुकुम पश्चिमबाट दाङतर्फ जाँदैगरेको जिप दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका –३ चोरखोलानजिक लु २ ख ६५०२ नम्बरको जिप असोज १२ गते दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ का एकै घरका २७ वर्षीय प्रकाश केसी, शशिधर केसी र ६८ वर्षीया पवी केसीको घटनास्थलमै मृत्यु भएको थियो ।
त्यस्तै, दुर्घटनामा गम्भीर घाइते भएकी ३६ वर्षीया बिना केसीको भारतको लखनउस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिनाको शवलाई पोष्टमार्टमका लागि रुकुम जिल्ला अस्पताल लगिएको छ । पवी केसी बिरामी भएपछि परिवारले उपचारका लागि दाङ लैजाँदै गर्दा जिप अनियन्त्रित भई करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।