काठमाडौँ, असोज १८ गते । देशका अधिकांश भू–भागमा भइरहेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भइरहेका बेला सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रवाहलाई निरन्तर र प्रभावकारी बनाउन सबै सञ्चार सेवाप्रदायक संस्थालाई अनुरोध गरेको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार आगामी तीन दिनसम्म देशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षा जारी रहने सम्भावना रहेको हुँदा नागरिकको जीवनरक्षा र जनधनको क्षति रोकथामका लागि सूचनाको प्रवाहलाई अझ सुदृढ बनाउन मन्त्रालयले निर्देशन दिएको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको उपस्थितिमा मन्त्रालयमा शनिबार बसेको बैठकमा अविरल वर्षाका कारण सञ्चार पूर्वाधारमा हुन सक्ने सम्भावित अवरोध रोक्न आवश्यक तयारी गर्न सम्बन्धित निकायहरूलाई आह्वान गरिएको थियो।
मन्त्री खरेलले नागरिकसम्म सही, छिटो र विश्वसनीय सूचना पुर्याउने कार्यलाई निरन्तरता दिन सबै सञ्चार प्रदायक संस्थाहरू सधैं तयारी अवस्थामा रहनुपर्ने बताउनु भएको छ। उहाँले विपद्को समयमा सञ्चार क्षेत्रले समन्वयात्मक भूमिका खेल्नु अत्यन्तै जरुरी रहेको उल्लेख गर्नुभयो।
मन्त्रालयले विपद्को समयमा आकस्मिक सूचना प्रवाह गर्नका लागि सम्बन्धित सेवाप्रदायकसँग सिधा सम्पर्क गर्न निम्न नम्बरहरू उपलब्ध गराएको छः
निकाय सम्पर्क नम्बर
नेपाल दूरसञ्चार कम्पनी (NTC) १४९८
एनसेल (Ncell) ९००५
इन्टरनेट सेवा प्रदायक (ISPAN) ९८५१०२६२४१
नेपाल दूरसञ्चार प्राधिकरण (NTA) ०१-५५२२३२२ / ०१-५५२३२०३
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ०१-४२११५६३ / ०१-४२१११५१
मन्त्रालयले देशका सबै सञ्चारकर्मी र सञ्चार संस्थालाई विपद्को समयमा जनतालाई समयमै आवश्यक सूचना पुर्याउने कार्यमा सक्रिय रहन अनुरोध गरेको छ।