• १८ असोज २०८२, शनिबार

सिन्धुलीबाट फर्काइए काठमाडौं हिडेका गाडी

blog

बर्षाका कारण बीपी राजमार्ग अबरुद्ध भएपछि शनिबार काठमाडौं हिडेका सवारी साधनलाई सिन्धुलीमाढीबाट फर्काइँदै । तस्बिरः बाबुराम देवकोटा

बाबुराम देवकोटा 

सिन्धुलीमाढी, असोज १८ गते । बडा दसैंको समयमा बिपी राजमार्ग हुँदै पूर्वबाट काठमाडौं हिडेका एक सयभन्दा बढी यात्रुबाहक सवारी साधनलाई प्रहरीले शनिबार सिन्धुलीबाट फर्काएको छ ।

अबिरल बर्षाका कारण बीपी राजमार्गको नेपालथोक–भकुण्डेबेसी खण्ड अबरुद्ध भएपछि ती सवारी साधनलाई सिन्धुलीको जिल्ला सदरमुकाम सिन्धुलीमाढी, खुर्कोट र नेपालथोकबाट फर्काएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

बीपी राजमार्गको विभिन्न ठाउँ माझीटार, शान्तिनगर चोक, खुर्कोट, नेपालथोकबाट एक सयभन्दा बढी यात्रुबाहक सवारी साधनलाई प्रहरीले सम्झाइ–बुझाई फर्काएको ट्राफिक प्रहरी निरीक्षक मो. कलीम अन्जुमले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘बर्षाका कारण उक्त खण्डमा जोखिम बढेकाले काभ्रेको जिल्ला सुरक्षा समितिको बैठकले पनि शनिबार र आइतबार गरी दुई दिन पूर्णरुपमा यातायात बन्द गरेको छ । यात्रुहरु बिचबाटोमा अलपत्र नपरुन् भन्ने उद्देश्यले गाडीलाई सम्झाइ–बुझाई फर्काउने काम भइरहेको छ ।’ 

अझै पनि बाटो खुल्छकि भनेर धेरै सवारी साधन बिचबाटोमा नै रहेको र  सम्झाउने काम भइरहेको उहाँको भनाइ छ । गत बर्ष असोजको बाढी पहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गको नेपालथोक–भकुण्डेबेसी खण्डमा करिब १२ किलोमिटर सडकमा अस्थायी डाइभर्सन बनाई यातायात सञ्चालन गरिएको र अहिले बर्षाका कारण उक्त खण्ड बढी जोखिमपूर्ण रहेको प्रहरीले जनाएको छ । 

बीपी राजमार्गकै सुनकोसी गाँउपालिका –६ कानढुङ्ग्रीमा माथिबाट ढुङ्गासहित पहिरोआई सडक अबरुद्ध भएको र एकतर्फी यातायात सञ्चालन जोखिमपूर्ण रहेको छ । बडा दसैंको समयमा मनसुन सक्रिय भई सुरु भएको बर्षाको कारण जनजीवन प्रभावित भएको स्थानीयले बताएका छन् ।