राधा लुइटेल
फिदिम, असोज १८ गते । तमोर करिडोर अन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका ३ कात्तिकेमा बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ६ जनालाई उद्धार गरिएको छ ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवाबाट धरानका लागि छुटेको बोलेरो जिप दुर्घटनामा परेको हो ।
मे १ ज ३०५५ नम्बरको जिप शनिबार बिहान तमोर करिडोरअन्तर्गत कुम्मायक गाउँपालिका–३ रानीगाउँस्थित कात्तिकेमा सडकबाट करिब तीनसय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
जिपमा चालकसहित ११ जना यात्रु सवार रहेको र पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो । अन्य छ जनालाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी थप उपचारका लागि धरानतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी खेमराज घिमिरेले जानकारी दिनुभयो ।
घटनास्थलमा अझै उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप विवरण संकलन भइरहेको जनाइएको छ । घाइते र मृतकहरुको नाम वतन खुल्न नसकेको प्रहरीले जनाएको छ ।