• १८ असोज २०८२, शनिबार

हेटौँडा–काठमाडौँ सडकमा सवारीसाधन सञ्चालन गर्न नपाइने

blog

बागमती,असोज १८ गते ।  बाढीपहिरोको जोखिम बढेकाले हेटौँडा–काठमाडौँ जोड्ने सडकमा सवारीसाधन सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्णयअनुसार हेटौँडा–काठमाडौँ जोड्ने मुख्य सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता पुष्कर बोगटीले जानकारी दिनुभयो । 

उहाँका अनुसार हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ, हेटौँडा–भैँसे–फाखेल सडक र हेटौँडा–चित्लाङ–काठमाडौँ सडकमा सवारीसाधनलाई आज बिहानैदेखि सञ्चालन गर्न दिएको छैन । हेटौँडा हुँदै काठमाडौँका निम्ति छुटेका सबै सवारीसाधनलाई प्रहरीले हेटौँडाको चौकीटोल, भैँसे, पिप्लेमा रोकेको छ ।  सवारीसाधन सञ्चालन नहुँदा  यात्रीहरू अलपत्र परेका छन् । 

हेटौँडा–काठमाडौँ जोड्ने कुनै पनि सडक हालसम्म बाढी वा पहिरोका कारण अवरुद्ध नभए पनि वर्षा निरन्तर भइरहेकाले जोखिमबाट जोगिन ती सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रवाक्ता बोगटीले बताउनुभयो ।

यसैबीच, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले आजदेखि असोज २० गतेसम्म अत्यन्त  टाढा र राति यात्रा नगर्न आग्रह गर्नुभएको छ । उहाँले सबै जिल्लाबासीलाई सचेत रहन आग्रह गर्नुभएको छ । रासस