• १८ असोज २०८२, शनिबार

किसानलाई पाकेको बाली भित्र्याउने चटारो

blog

फाइल तस्बिर ।

राजन रावत

हुम्ला, असोज १८ गते । वडा दसैँको रौनक सकिनै लाग्दा हिमाली जिल्ला हुम्लाका किसानहरुलाई भने पाकेको फापर लगाएतका बाली भित्र्याउने चटारो सुरु भएको छ । मौसम सफा भएकोले उच्च स्थानहरुमा बाली पाकेको कारण दसैँ भन्दा पनि किसानहरुलाई सो बाली भित्र्याउने कार्यलाई प्राथमिकता दिनु परि रहेको हो । 

गत चैत वैशाख महिनामा छरेको बाली पाकेपछि किसानहरुलाई दसैँ भन्दा पनि उक्त बाली भित्र्याउने चटारो सुरु भएको सिमकोट गाउँपालिका–५ की परेउकली रावतले बताउनुभयो । वडा दसैँ ठुलो चाड भएपनि बाली पनि यति नै बेला पाकेको कारण चाड मनाउने र बाली थन्क्याउने काम सँससँगै गर्नु परि रहेको उहाँले बताउनुभयो । 

यतिबेला माथिल्लो हुम्लाका अधिकाँस बाली पाकेकोले किसानहरुलाई बिहानैबाट बेलुकासम्म काममै खटिनु परि रहेको छ । चिनो, कागुनो, तिते फापर, मिठे फापर, कोदो, सिमी, भटमास, आलु लगाएतका बाली थन्क्याउने कामको चटारो किसानलाई छ । समयमा बाली नभित्र्याउँदा पशुबस्तु पनि छोडिने भएको कारण समय मै बाली भित्र्याउनै पर्ने बाध्यता किसानलाई रहेको छ । 

त्यसैगरि खार्पुनाथ गाउँपालिका– ४ को लेख गाउँकी  काली जेठाराले दसैँ भन्दा किसानलाई बाली भित्र्याउने कामलाई प्राथमिकता दिनु परि रहेको बताउनुभयो । उहाँले यसपाली दसैँ चाँडै परेको कारण रातीको समयमा बली दिएर मिठो मसिनो परिकार तयार पारेर खानु पर्ने बाध्यता रहेको बताउनुभयो । 

बाली पाकिसकेकोे कारण बेलैमा नथन्क्याउदा झर्ने समस्या आउने सक्ने भएकोले दसैँ भन्दा बाली भित्र्याउन परि रहेको बताउँदै कामको चाप र दसैँसँगै हुँदा यसपाली आरामका साथ दसैँ मनाउन नपाई उहाँले बताउनुभयो । यता सर्केगार्ड गाउँपालिका– ३ को उनापानी गाउँका बलबिर रोकायाले अन्नको भण्डारण गुसामा कामको चाप बढी रहेको कारण दसैँले खासै प्राथमिकता नपाउने बताउनुभयो । 

पहिलो प्राथमिकतामा बाली भित्र्याउने काम गर्नु परि रहेकोले समय मिलाएर दसैँ मनाउनु पर्ने अवस्था रहेको उहाँले बताउनुभयो । यसरी यतिबेला हुम्लाका तीन वटा गाउँपालिका मात्र नभएर अन्य नाम्खा, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकाका किसानहरुलाई पाकेको बाली थन्क्याउन र भित्र्याउने चटारो एक साथ सुरु भएको छ । यतिबेला बाली थन्क्याउने काममा नलागे पाकेको बाली खेर जाने अबस्था रहेको कारण दसैँ भन्दा कामलाई प्राथमिकता दिनु किसानलाई बाध्यता रहेको छ ।