फडिन्द्र अधिकारी
लेखनाथ, असोज १८ गते । हल्का र मध्यम खालको वर्षा भइरहे पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गण्डकी प्रदेशका राजमार्गहरु शनिबार दिउँसोसम्म खुला छन् । काठमाडौं, भरतपुर र भैरहवाको मौसम बिग्रिदा पोखराबाट उडान भने हुन सकेको छैन ।
विमानस्थलकी सूचना अधिकारी जसोदा सुवेदीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुला रहेको तर गन्तव्यका विमानस्थलहरु बन्द हुँदा उडान हुन नसकेको जानकारी दिनुभयो । “पोखरा विमानस्थलमा अहिलेसम्म समस्या छैन । काठमाडौं, भरतपुर र भैरहवाका विमानस्थल बन्द हुँदा उडान हुन सकेको छैन ।”
शनिबार सवा ९ बजे विराटनगरबाट काठमाडौंका लागि उडेको यति एयरलायन्सको जहाज काठमाडौंको खराब मौसमका कारण पोखरा विमानस्थलमा आवस्मिक अवतरण भएको थियो । अनुकूल मौसमपछि यात्रुसहित सो विमान काठमाडौं उड्ने सुवेदीले जानकारी दिनुभयो । पोखरा विमानस्थलमा यति, बुद्ध र श्री एयरलायन्सले उडान भर्ने गरेका छन् ।
यता, गण्डकी प्रदेशका ११ जिल्लामा कुनै राजमार्ग र अरु सडक बन्द नरहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडाका प्रहरी उपरीक्षक दानबहादुर थापाले अहिलेसम्म सबै सडक खुला रहेको जानकारी दिनुभयो । “पानी परिरहेको छ तर अहिलेसम्म कुनै पनि अवरोध छैन,” उहाँले भन्नुभयो, “सबै यात्रुलाई मौसम पूर्वानुमानको ख्याल गर्न र प्रशासनका सूचनाहरु अवलम्बन गर्न भनेका अनुरोध गर्दछौँ ।”
वर्षा बढ्न सक्ने, बाढी, पहिरोले जोखिम हुन सक्ने भएकाले शनिबारदेखि सोमबारसम्म यथाशक्य यात्रा नगर्न उहाँले अनुरोध गर्नुभयो । गण्डकी प्रदेशका सबैजसो जिल्ला प्रशासन कार्यालयहरुले सूचना प्रकाशन गरी अत्यावश्यक नभई यात्रामा ननिस्किन र सतर्क रहन अनुरोध गर्दै सूचनाहरु जारी गरेका छन् ।