ठाकुरप्रसाद आचार्य
म्याग्दी, असोज १८ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ मा पर्ने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर भ्रमणमा शनिबार र आइतबार दुई दिनसम्म रोक लगाइएको छ।
भारी वर्षाका कारण सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै वडा नम्बर ४ नारच्याङले मौरिस हर्जोग पदमार्ग र आधार शिविर भ्रमणमा रोक लगाउने निर्णय गरेको वडाध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम हुने भनि सूचना जारी गरेकाले हामीले पनि यस क्षेत्रको भ्रमणमा रोक लगाएका हौं ।’’ वर्षा र हिमपातको सम्भावना भएकाले आधार शिविर तथा पदमार्गमा पर्यटकले दुःख पाउने तथा दुर्घटनाको जोखिम देखिएको हुँदा रोक लगाइएको उहाँले बताउनुभयो ।
दशैं विदाको अवसर पारेर पदयात्रीहरु मौरिस हर्जोग पदमार्गमा पदयात्रा गर्दै अधाार शिविर पुग्ने गरेका छन् । मिस्त्रीखोलाको किनारै किनार हुँदै आधार शिविर जाने पदमार्ग निर्माण गरिएको छ । पदमार्गमा पर्ने साना खोलाहरुमा पानीको सतह बढ्ने,बाढीपहिरोको जोखिम हुने र आधार शिविरमा हिमपात समेत हुने भएकाले पर्यटकलाई आधार शिविरको भ्रमणमा रोक लगाइएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तथा स्थानीय पर्यटनकर्मी तेजबहादुर गुरुङले बताउनुभयो ।
यता जिल्ला प्रशासन कार्यालय म्याग्दीले पनि शुक्रबार सूचना जारी गर्दै अन्नपूर्ण आधार शिविरको भ्रमण नगर्न अनुरोध गरेको थियो ।