रवीन्द्र उप्रेती
बर्दिबास, असोज १८ गते । पिपरा गाउँपालिका–१ स्थित ढेकाहा बजारमा आज राति अराजक समूहले गरेको आगजनी र तोडफोडबाट ठूलो क्षति पुगेको छ ।
समूहले रातको समयमा पसलका ताला फोडी लुटपाट गर्दै ५ वटा पसलमा आगजनी र ३ पसलमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।
बजारमा लागेको आगजनीलाई जलेश्वर र मटिहानी नगरपालिकाबाट आएका दुईवटा वारुणयन्त्रले आज विहानपछि मात्र नियंत्रणमा लिन सकेका थिए । आगजनीबाट रुपेश साह र मंसुर कवारीको किराना पसल, इसा कवाडी र अब्बु कवाडीको पान पसल तथा महमद उमर राइनको मोटरसाइकल ग्यारेज जलेर खरानी भएको छ ।
त्यस्तै रामवृक्ष यादवको चिया पसल, लतिफ कवाडीको कुखुरा पसल र मजिलिस कवाडीको किराना पसलमा तोडफोड गरिएको छ ।
पीडित व्यापारीका अनुसार सबै पसलहरू भाडाको घरमा सञ्चालनमा थिए । आगजनीबाट ठूलो आर्थिक क्षति भएको जनाउँदै व्यापारी रुपेश साहले आफ्नो होलसेल किराना पसलमा मात्रै १५ लाख रुपियाँभन्दा बढीको क्षति भएको बताउनुभयो । उहाँका अनुसार संपूर्ण पसलहरूमा कम्तीमा ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ, भवनको समेत हिसाब गर्दा एकदेखि डेढ करोड बराबरको क्षति भएको अनुमान छ ।
प्रहरीले भने घटना मुचुल्का भइरहेकोले क्षतिको एकिन विवरण आउन केही समय लाग्ने जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी शैलेन्द्र भट्टका अनुसार घटनाको सूक्ष्म अनुसन्धान भइरहेको छ ।
घटनाको मूल कारणबारे अहिलेसम्म यकिन हुन सकेको छैन । स्थानीयहरूका अनुसार घटनाको जरो एकरहिया गाउँमा लागेको दुर्गा मेला र त्यसमा ल्याइएको भारतीय आरकेष्ट्रा रहेको बताइएको छ । भारतको साहरघाटबाट झिकाइएको ६ जना नर्तकीसहितको आरकेष्ट्रा हेर्न गएका ढेकाहा र एकरहियाका युवाबीच राती नै विवाद भएको थियो । झगडा चर्किएर हात हालाहालसम्म पुगेको गाँउलेको भनाइ छ ।
यसैबीच आक्रोशित एक समुहले प्रतिशोधस्वरूप ढेकाहा बजारमा तोडफोड र आगजनी गरेको दावी गरिएको छ । एक पक्षले एकरहियाका युवाहरूले घटना घटाएको दाबी गरे पनि अर्का पक्षको भनाइमा पीडित व्यापारीहरू सबै एकरहियाका भएकोले ढेकाहाका युवाहरूले आगजनी गरेको आरोप छ ।
पिपरा गाउँपालिका अध्यक्ष रामजानकी यादव र वडा नं १ का वडाध्यक्ष राजेशकुमार दाशले घटनाको कारण आरकेष्ट्रा विवाद भए पनि त्यसलाई राजनीतिक मोड दिन खोजिएकोले विवाद थप चर्कन सक्ने सक्ने बताउनुभयो ।
वडाध्यक्ष दाशले भन्नुभयो, “जेन–जी आन्दोलनको रापले सुरक्षाकर्मीको मनोबल गिराएको बेला यस्तो घटना हुनु र त्यसमाथि राजनीति गर्ने प्रयास गलत हो । सत्य तथ्य पत्ता लगाएर दोषीलाई कारवाही गर्नुपर्छ, नत्र अराजक समुह झनै हौसिन सक्छ ।’
स्थानीयहरूको प्रश्न छ ‘भारतीय नर्तकी र आरकेष्ट्रामा प्रतिबन्ध लगाइएको अवस्थामा बिना अनुमति नर्तकीहरु कसरी गाउँमा आए ?’
डीएसपी भट्टले भन्नुभयो, ‘हामी घटनाको छानबिन र सूक्ष्म अनुसन्धानमा जुटिरहेका छौ।’
घटनास्थल आसपासका क्षेत्रमा ब्यापकरुपमा सशस्त्र तथा नेपाल प्रहरी परिचालन गरिएको छ । घटना आरोपमा अहिलेसम्म कोही पक्राउ नपरेको जिल्ला प्रहरीले जनाएको छ ।