साहारा लिम्बू
फुङलिङ (ताप्लेजुङ), असोज १८ गते । ताप्लेजुङमा अवस्थित कुम्भकर्ण हिमाल आरोहणका लागि गएका विदेशी खराब मौसमको सूचना पाएपछि सुरक्षित स्थानमा फर्किएका छन् । मौसम सुधार नभएसम्मका लागि उहाँहरु होटेल फर्किनु भएको हो ।
घुन्साका पर्यटन तथा होटल व्यवसायी छिरिङ शेर्पाका अनुसार उहाँहरू खम्बाछेनदेखि एक क्याम्प तल रहेको घुन्साको जोङगा होटेल फर्किनु भएको छ ।
यस वर्ष ७ हजार ७ सय १० मिटर उचाइको कुम्भकर्ण हिमाल आरोहणका लागि फ्रान्सका नागरिक बेन्जामिन र निकोलस आउनु भएको हो । उहाँहरुले गतवर्ष पनि यही हिमाल आरोहणको प्रयास गर्नुभएको थियो ।
आरोहण सफल हुन नसकेपछि फर्किनुभएका उहाँहरू यसवर्ष पुनः कुम्भकर्ण हिमाल आरोहणको प्रयासमा आउनु भएको हो । मौसममा सुधार आएपछि प्रयासलाई गति दिने जानकारी प्राप्त भएको व्यवसायी शेर्पाले बताउनुभयो ।
यता जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले विज्ञप्ति जारी गर्नुहुँदै असोज १७ देखि २० गतेसम्म सावधानी अपनाउन आग्रह गर्नुभएको छ । यस्तै विपद् आइहाले राहत तथा उद्धारका लागि आवश्यक जनशक्ति र उपकरणसहित तुरुन्त परिचालित हुन जिल्लास्थित नेपाली सेनाको दुर्गादल गुल्म, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ र सशस्त्र प्रहरी बल नेपाल नं। १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घा, नेपाल रेडक्रस सोसाइटी सहितका सामाजिक सङ्घसंस्थालाई निर्देशन समेत दिनुभएको छ ।