बागलुङ, असोज १७ गते। बागलुङमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्लाको ताराखोला गाउँपालिका–१ गाईघाट नजिकै शुक्रबार साँझ ग १ ज ६१०० नम्बरको पिकअप गाईघाट नजिकै दुर्घटना हुँदा गलकोट नगरपालिका–५ सर्दाखेतका करिब २४ वर्षीय दिनेश थापाको मृत्यु भएको हो।
गलकोट हटिया बजारदेखि ताराखोला जाँदै गरेको पिकअप दुर्घटना हुँदा गलकोट नगरपालिका–५ सर्दाखेतका २४ वर्षीय मिलन परियार र सोही वडाका ४३ वर्षीय वीरबल परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो।
घाइतेमध्ये वीरबल गम्भीर हुँदा गलकोट नगर अस्पतालमा सामान्य उपचारपछि पोखरा रिफर गरेको उहाँको भनाइ छ। अर्का घाइते मिलन परियारको भने गलकोट अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो।
जीप सडकबाट करिब २० मिटर तल ताराखोलामा खसेको थियो। दुर्घटनाको खबर पाए लगत्तै गलकोटबाट प्रहरीको टोली पुगेर उद्धार गरेको उहाँले बताउनुभयो।