• १७ असोज २०८२, शुक्रबार

नेपालगन्जमा दुर्गा भवानीका मूर्ति विसर्जन गरिँदै

blog

दुर्गा मूर्ति विसर्जन जुलुसमा सहभागी युवा । तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, असोज १७  गते । बडा दसैँको घटस्थापनादेखि नेपालगन्जमा स्थापना गरिएक दुर्गा भवानीका मूर्ति (प्रतिमा) विसर्जन कार्य शुक्रबार शान्तिपूर्ण तरिकाले भइरहेको छ । 

ट्रक, ट्रली लगायत विभिन्न सवारी साधनमा मूर्तिलाई राखेर लावा लस्करका साथ, बाजागाजासँगै बैण्ड बाजा बजाएर नाँचगान गर्दै जय मातादीको नारा लगाउँदै राप्ती नदी तर्फ लैजाने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

शुक्रबार सबै मूर्ति लगेर राप्ती नदीको सिधानिया घाटमा सेलाइनेछ । मूर्ति सेलाउने क्रममा भक्तजनका लागि प्रसाद वितरण, भजन कीर्तन समेत भइरहेको छ । घटस्थापनाको दिनदेखि स्थापना गरिएको दुर्गाको मूर्ति नौ दिनसम्म विशेष पुजापाठ गरी दसैंको भोलिपल्ट सेलाउने परम्परा रहेको स्थानीय समाजसेवी नन्दलाल वैश्यले बताउनुभयो ।

उहाँका अनुसार मूर्तिमा नौ दिनसम्म दुर्गा सप्तशतीको पाठ गर्ने गरिन्छ । नवमीका दिन विशेष पुर्णाहुति गरी पूजापाठ सकिन्छ । दुर्गा भवानीको मूर्ति विसर्जन र्यालीअत्यन्तै मर्यादित, अनुशासित, शान्त एवम् शौम्य तुल्याउन साँझ ५ बजेअघि नै मूर्ति विसर्जन सक्न स्थानीय प्रशासनले अनुरोध गरेको छ । बाँके जिल्लामा करिब ६०० दुर्गा मूर्ति रहेका छन् । नेपालगन्जमा मात्र ५० भन्दा बढी मूर्ति पुजाका लागि स्थापना गरिएको जनाईएको छ।