बोमलाल गिरी
नवलपुर, असोज १७ गते । जिल्ला प्रशासन कार्यालय नवलपुरले अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन सबैमा अपिल गरेको छ । प्रशासनले शुक्रबार एक सूचना जारीगरी १७ गतेदेखि २० गतेसम्म मुलुकको विभिन्न भागसहित गण्डकी प्रदेशको नवलपुरमा पनि भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन अपिल गरेको हो ।
भारी वर्षाका कारण उत्पन्न हुनसक्ने डुवान, बाढी, पहिरो, भुक्षय लगायतका विपद्जन्य जोखिम हुने, हवाई तथा सडक यातायात प्रभावित हुन सक्ने भन्दै सकर्कता अपनाउन र पूर्वतयारीमा ध्यान दिन भनेको छ ।
प्रशासनले यो अवधिमा अत्यन्त जरुरी काम नपरी घरदेखि टाढा र रातको समयमा यात्रा नगर्न, पहिरोको उच्च जोखिम रहेका स्थानहरु, नदी किनारमा नबस्न तथा जोखिमपूर्ण स्थानका वासिन्दाले आपतकालीन सामग्री र झटपट झोला तयारी अवस्थामा राख्न भनेको छ ।
त्यस्तै, सवारी साधनलाई संयम भएर सञ्चालन गर्न, क्षमताभन्दा बढी यात्रु नचढाउन आग्रह गर्दै भित्रि सडकहरु साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म बन्द गर्न निर्देशन दिइएको छ । यो अवधिमा जिल्लाको गैँडाकोटको कालिगण्डकी करिडोरदेखि डेढगाउँसम्म र दलदले–धौवादी–बुलिङटारको भित्रि सडक बन्द रहने प्रशासनले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्ड र कालिगण्डकी करिडोरको तरंगे खोला आसपास तुरुन्त परिचालन हुनेगरी डोजर, एक्जाभेटर तयारी अवस्थामा राख्न र पूर्व तयारीमा जुट्न पनि प्रशासनले सबैसित अपिल गरेको छ ।