• १७ असोज २०८२, शुक्रबार

‘पर्याप्त पूर्वाधार भएमा कोरला नाका अर्थतन्त्रको कोसेढुंगा’

blog

नेपाल र चीनलाई जोड्ने उपल्लो मुस्ताङमा २४ नम्बरको स्तम्भ रहेका कोरला नाका ।

हरिकृष्ण शर्मा 

मुक्तिनाथ (मुस्ताङ), असोज १७ गते । असोज १० गते गण्डकी प्रदेशका उद्योग वाणिज्य संघका अध्यक्षलाई लिएर मुस्ताङ पुग्नुभएका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उत्तरको छिमेकी चीनसँग जोडिएको कोरला नाकालाई ब्यावसायिक रूपमा सञ्चालन गर्न सडक सञ्जाल र भन्सार कार्यालयको भौतिक संरचना बनाउनुपर्ने बताउनुभयो । 

लोमान्थाङ गाउँपालिका छोसेरमा अवस्थित लिजी–नेचुङ नाका (कोरला) सम्म पुगेर फर्किएको अध्यक्ष ढकालसहितको टोलीले कोरला नाकालाई बाह्रै महिना सञ्चालन गर्न सडक सञ्जालमा आवश्यक पक्की पुलसहित सडक सुधारका साथै नाका क्षेत्रमा भन्सारमा आवश्यक पर्ने अत्याधुनिक संरचनाहरू विस्तार तत्काल गर्नुपर्नेमा जोड दिनुभयो ।  

नाकामा चिनियाँ पक्षले भौतिक पूर्वाधारसहित अत्याधुनिक मेसिनहरू जडान गरेको अवस्थामा नेपालतर्फ न्यूनतम पूर्वाधारको समेत अभाव भएकाले ढिलाइ गर्न नहुने महासंघका अध्यक्ष ढकालको भनाइ थियो । अध्यक्ष ढकालले भन्नुभयो, ‘‘नाकामा हाम्रो तयारी कमजोर छ, सडक र भन्सारको पूर्वाधार तयार गर्न सकेमा यो नाका उत्तरी देश जोड्ने सबैभन्दा उत्कृष्ट नाका हुन्छ । नेपालको वैदेशिक व्यापार घाटा न्यूनिकरणमा सघाउँछ ।’’ 

अध्यक्ष ढकालले नाकाभन्दा करिब १४ किलोमिटर तल रहेको भन्सार कार्यालयसम्म चिनियाँ कन्टेनरसहित मालबाहकले समान लिएर आउने वातावरण बनाउनुपर्ने, भन्सारमा जनशक्ती थप एकसय ८६ किलोमिटर दूरीको कोरला–जोमसोम–बेनी सडक खण्डमा निर्माणाधीन अवस्थामा रहेको पक्की पुललाई पूर्णतासहित ठुला कन्टेनर समेत सहजै आवतजावत गर्न मिल्नेगरी सडक विस्तार, उपल्लो क्षेत्रमा पर्याप्त विद्युतीय (ईभी) गाडीको चार्जिङ स्टेशनको आवश्यकता रहेको बताउनुभयो । कोरलाबाट गण्डकी प्रदेशको राजधानी पोखरा पुग्न २ सय ५१ किलोमिटरको सडक मार्ग पार गर्नुपर्छ । 

मुस्ताङ भन्सार कार्यालयसम्म आइपुगेका मझौला मालवाहकलाई सहज भए पनि ‘हेभी’ मालवाहक कन्टेनरहरूलाई समस्या भएकाले नाकाबाट आयात हुने सामानलाई सहजै गन्तब्यसम्म पुर्याउन सडक नै बाधक बनेको अवस्थामा पहिलो प्राथमकिता सडकलाई दिनुपर्ने मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजुप्रसाद लालचनले बताउनुभयो । 

भन्सारबाट सामान आयातित सामान बोकेर झरेका सवारीसाधनले फर्किने बेलामा नेपाली उत्पादनहरू निर्यातको वातावरण बनाउन मुस्ताङ र म्याग्दी खण्डको करिब २५ किलोमिटर बाढी पहिरोग्रस्त क्षेत्रमा सडक सुधार गर्नुपर्ने अध्यक्ष लालचनको भनाइ छ । 

अध्यक्ष लालचन भन्नुहुन्छ, ‘‘सबैभन्दा ठुलो समस्या घाँसादेखि बेनीसम्म छ, यो सडक सहज नहुदाँ यस क्षेत्रका ब्यवसायीलाई समेत धेरै घाटा भएको छ ।’’ गण्डकी प्रदेशको एक मात्र भन्सार नाका कोरला हो । 

भन्सार कार्यालय मुस्ताङका प्रमुख रमेश खड्काले नाका क्षेत्रमा भौतिक संरचना बनाउन सकिएमा चिनियाँ पक्ष बैकल्पिक नभई ब्यावसायिक रुपमै नाका सञ्चालनका लागि पूर्णरुपमा तयार रहेको देखिएको बताउनुभयो । चीनले एकीकृत प्रणालीलाई सुव्यवस्थित गर्न आवश्यक भौतिक संरचनासहित उपकरणहरू, आवागमनका लागि स्क्यानिङ प्रणाली आगमन र प्रस्थानका लागि कक्ष तथा भुक्तानीका लागि क्युआरसहित अन्य धेरै संरचना जडान गरेको छ । 

भन्सार प्रमुख खड्का भन्नुहुन्छ, ‘‘भन्सार कार्यालयमा चाहिने सबै अत्याधुनिक उपकरणहरू चिनियाँले प्रयोग गरेका छन् । उता सडक पनि राम्रो छ, हाम्रोमा सडक पूर्वाधारमा पनि समस्या भएकाले सहजै मालबाहक कन्टेनरलाई पठाउन सकिएको छैन ।’’ 

भन्सार प्रमुख खड्काका अनुसार चिनियाँ कम्पनी सिनोहाइड्रो कर्पोरेशन लिमिटेडको मनाङमा लैजानुपर्ने १८ मालबाहक ट्रली भन्सार कार्यालयमै रोकिएको छ । लोघेकर दामोदरकुण्ड –२ घमी खोलाको कच्ची पुलबाट लैजान नमिल्ने र सडक डाइभर्सन नहुँदा रोकिएको बताउँदै सडक सञ्जालमा आवश्यक पर्ने पूर्वाधार भए ब्यवसायीलाई समेत सहज हुने प्रमुख खड्काको भनाइ छ । 

कोरला नाका भारत र चीन जोड्ने सबैभन्दा छोटो (४३५ किलोमिटर) दूरीको नाका हो । यस नाका सञ्चालन आएमा नेपाल–चीन–भारतबिच त्रिदेशीयसँगै दक्षिण एशियाली देशको व्यापारमा समेत जोड्न सकिन्छ । 

कोरला नाका चीनको  ब्यापारिक हब बनाउन खोसको सिगात्से नगरबाट ३ हजार ६८७ किलोमिटर दूरीमा रहेको छ, भने लिजीबाट ल्हासाको दूरी ४ हजार ९६५ किलोमिटर रहेको छ । 

गत भदौ ३० गते भन्सार कार्यालयमा जनशक्तीसहित उपकरणको ब्यवस्थापन गरिएपछि नाका पूर्णरूपमा सञ्चालन भएपछि नेपालस्थित चिनियाँ दुतावासले समेत एक मालबाहक सामान नाकाबाट ढुवानी गरेको छ । भन्सार प्रणाली जडान भएको १५ दिनको अवधिमा २ अर्वभन्दा बढी राजस्व संकलन भएको छ । 

समुद्री सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाका बि.स २०८० कात्तिक २७ देखि औपचारिक उद्घाटनपछि मुस्ताङका पाँच स्थानीय तहका बासिन्दाले घरायसी र सामान्य ब्यापारका लागि सामान आयात गर्ने गरेका थिए । सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि यो नाकामा आवतजावत रोकिएको थियो ।