राधा लुइटेल
फिदिम, असोज १७ गते । प्रमुख र सहायक राजमार्ग गरी एक दर्जन भन्दा धेरै सडक बाढी पहिरो र विपद्जन्य दुर्घटनाको जोखिममा रहेको भन्दै पाँचथर प्रहरीले यात्रा गर्नु पूर्व सुरक्षा सावधानी अपनाउन सर्व साधारणलाई आह्वान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी (प्रहरी निरिक्षक) रुपेश तामाङले शुक्रबार सार्वनिक सूचना जारी गर्दै जोखिमको पहिचान भएका जिल्ला स्थित,मेची,मध्य पहाडी र तमोर करिडोर सहित भित्री सडकहरुको सूची सार्वजनिक गर्नुभएको हो ।
पाँचथर प्रहरीद्वारा जारी गरिएको सूचनामा मेची राजमार्गको फिदिम २ स्थित रमिते पहिरो,फाल्गुनन्द ३ को पाङ्ग्रे भीर, फिदिम फालौट सडक खण्डमा पर्ने फिदिम १ र ११ को फेमेखोला, तमोर करिडोर अन्तरगत तुम्वेवा तुम्वेवा २ को नावाखोला, मध्य पहाडी राजमार्गको याङवरक ३ रिजाल भिर र याङवरक २ को फलामखोला र मेवा खोला लगायत सडकमा बाढी पहिरो र विपदजन्य दुर्घटनाको जोखिम छ ।
यस्तै फालेलुङ ७ घुमाउनेटार फालेलुङ ५ र ६ को सिमावर्ती मुवाखोला,राँके रवि भेडेटार सडक खण्डका मगरभित्ता,शान्तिचोक र गुम्वाडाँडा सहित कुम्मायक र फालेलुङका अन्य सडक पनि बाढी पहिरोको जोखिममा रहेको प्रहरीले जनाएको छ । विगतमा बाढी पहिरोले पटक पटक आक्रान्त बनेको पाँचथरमा पुनः ठुलो क्षति नहोस भनेर पुर्व सूचना जारी गरिएको तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार मौसमविदहरुले असोज १७ देखि २० गतेसम्म पुनः बाढी पहिरोको जोखिम बढ्ने पुर्वानुमान सहित सर्वसाधारणलाई सचेत हुन आग्रह गरिएको हो ।