• १७ असोज २०८२, शुक्रबार

सङ्खुवासभामा निःशुल्क यातायात सेवा

blog

किमाथाङ्का(सङ्खुवासभा),  असोज १७ गते ।  सङ्खुवासभामा दसैँं–तिहारको अवसरमा युवाहरूले छोरीचेलीलाई माइत र मावल आवतजावतमा सहज बनाउन निःशुल्क यातायात सेवा सुरु गरेका छन् ।

जिल्लामा ‘दसँैंतिहार चेलीलाई उपहार अभियान’ नाम दिइएको यो कार्यक्रम यही असोज १५ गतेदेखि सुरु गरिएको हो । माइत र मावल आवतजावतमा सहज बनाउन निःशुल्क यातायात सेवा सुरु गरिएको संयोजक मेघराज तोलाङ्गीले बताउनुभयो ।

निःशुल्क सेवा दसँैंको पूर्णिमासम्म उपलब्ध हुनेछ । माइत र मावल आवतजावतमा सहज बनाउने अभियानमा छ वटा मोटरसाइकल रहेका छन् । दुईवटा चारपाङ्ग्रे सवारी साधनमार्फत अहिलेसम्म दुई दर्जनभन्दा बढी छोरीचेलीलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याइएको छ । आज पनि बिहानैदेखि  युवाहरूले छोरीचेलीलाई माइत मामल आवतजावत गराइरहेको संयोजक तोलाङ्गीले बताउनुभयो ।

विशेषगरी गाउँघरमा सवारी साधनको पहुँच कम भएका र आर्थिक अवस्था कमजोर भएका परिवारलाई ठूलो राहत प्रदान गरेको उहाँको भनाइ छ । माइती–मावली सेवाको यो पहलले स्थानीयको मन जितेको छ । अभियानलाई समर्थन गर्न स्थानीय दाताहरुले युवालाई पेट्रोल भरिदिने र अन्य सहयोग प्रदान गर्ने गरेको संयोजक तोलाङ्गीले बताउनुभयो ।

यो अभियानले सामाजिक उत्तरदायित्व र निःस्वार्थ सेवाको भावनालाई प्रोत्साहन गरेको छ । समुदायको साथ सहयोग पाउँदै गएको अभियानले यस वर्ष अझ बढी छोरीचेलीलाई सहज र सुरक्षित आवतजावत उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

शिक्षकमाथि खुकुरी प्रहार

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका –४ माङ्तेवामा शिक्षकमाथि खुकुरी प्रहार भएको छ । सिलिचोङ–४ माङ्तेवामा बिहीबार राति जीवनज्योति माध्यमिक विद्याललयका शिक्षक  राजेन्द्र राईमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो । 

मादकपदार्थ सेवन गरेर जीवनज्योति माविका शिक्षक राईमाथि खुकुरी प्रहार भएको प्रहरी निरीक्षक लामिछानेले बताउनुभयो । खुकुरी प्रहारबाट शिक्षक राईको टाउको, हात र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । शिक्षकमाथि मादकपदार्थ सेवन गरेका पूmपुका छोरा सुरेन्द्र राई र एक नाबालक (अमिर राई) ले खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लामिछानेले बताउनुभयो । 

गम्भीर घाइते शिक्षक राईको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार हुन नसकेपछि थप उपचारका लागि आज बिहान विराटनगरस्थित न्यूरो अस्पताल लगिएको प्रहरी निरीक्षक लामिछानेले बताउनुभयो । 

घटनालगत्तै प्रहरी चौकी माङ्तेवाबाट प्रहरी सहायक निरीक्षक क्रान्तिराज पौडेलको कमाण्डमा तीन जनाको टोली घटनास्थल पुगेको थियो । खुकुरी प्रहार गर्ने सुरेन्द्र र अमिरलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।  घटनाका बारेमा थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थल सदरमुकमा खाँदबारीबाट एक दिनको पैदल दुरीमा पर्दछ ।  रासस