• १७ असोज २०८२, शुक्रबार

व्यक्तिगत लगानीमा चर्खेपिङ निर्माण

blog

बागलुङ नगरपालिका –९ सिगानामा निर्माण गरिएको चर्खेपिङ । तस्बिरः नवराज नेपाली

नवराज नेपाली

बागलुङ (गलकोट), असोज १७ गते । दसैंमा खेलिने चर्खेपिङ हराउँदै जान थालेपछि बागलुङ नगरपालिका –९ सिगानाका पूर्व वडाअध्यक्षको सक्रियतामा संरक्षण थालिएको छ । उहाँले गत वर्षदेखि व्यक्तिगत लगानीमा चर्खेपिङ निर्माण गर्दै उनुभएको छ । 

खर्चिलो, युवाशक्तिको अभावमा लोप भइसकेको चर्खेपिङ बागलुङ नगरपालिका –८ सिगानामा गत वर्षदेखि हालिदै आइएको छ । लोप हुन थालेको चर्खेपिङ संरक्षणका लागि व्यक्तिगत लगानीमा चर्खेपिङ हालिएको उहाँले बताउनुभयो ।  पूर्ववडा अध्यक्ष राजजिसीले आफ्नै लगानीमा गतवर्षदेखि दसैंमा चर्खेपिङ हाल्न थालिएको बताउनुभयो । उहाँले यो दसैंलाई लक्षित गरी सिगाना पात्लेनजिकै चर्खेपिङ हालेको जानकारी दिनुभयो । 

बढ्दो बसाइसराइँका कारण गाउँमा जनशक्तिको अभावमा लोप भएको पिङ सिगानामा १३ वर्षपछि हाल्न थालिएको छ । १३ वर्ष अघिसम्म दसैँमा सिगानामा मात्रै तीनदेखि चार वटा चर्खेपिङ हाल्ने गरे पनि विस्तारै लोप भएको थियो । 

चर्खेपिङ हाल्ने चलन हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै आउनुभएको जिसीले ४० हजार लगानीमा चर्खेपिङ निर्माण गरेर संरक्षण मात्र गर्नुभएको छैन, सिगानाभरका नागरिकलाई चर्खेपिङको मज्जा दिइराख्नुभएको छ । पछिल्लो युवापुस्तालाई पिङको महत्व बुझाउन पनि चर्खेपिङ हालिएको जिसीले बताउनुभयो । 

 “गत वर्ष ४० हजार खर्च भयो, अहिले त त्यही पोहोरकै सामग्रीहरु जडान गरेर सडक छेउमा पिङहाले पिङ हाले पनि खेल्ने मानिसको समेत अभाव गाउँमा खड्किएको बताउनुभयो । उहाँले भन्नुभयो “पछिल्लो समयदेखि छाडेको चर्खेपिङ संरक्षण गर्नुपर्ने सबैको दायित्व हो, स्थानीय सरकारले समेत एक गाउँ एक पिङको अवधारणा ल्याउनुपर्छ, नत्र चर्खेपिङ लोप भएर जान्छ ।”  

विगत चार वर्षदेखि बागलुङ नगरपालिका –५ साझखोलाको सुनाखरी सामुदायिक वन र स्थानीय युवाहरुको सक्रियतामा हाल्दैआएको चर्खेपिङ यो वर्ष राख्न नसकिएको वडा अध्यक्ष हरिप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँले काठ कुहिन थालेपछि पिङ नहालिएको र नयाँ काठ निर्माण गर्न समय लाग्ने बताउनुभयो । दसैँमा भूँइ छाड्नुपर्छ भन्ने मान्यताका आधारमा दसैं, तिहारमा चर्खेपिङ, रोटेपिङ र लिङ्गे पिङ हाल्ने चल्दैआएको थियो ।