• १७ असोज २०८२, शुक्रबार

आन्दोलनमा जलेको प्रहरी चौकी प्रवासी नेपालीको सहयोगमा मर्मत गरी सञ्चालन

blog

प्रहरी चौकीलाई मर्मत र रंगरोगन गरिएपछि प्रहरी र सर्वसाधारण चौकीमा । तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, असोज १७ गते । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते आगलागीबाट क्षति पुगेको बाँकेको नेपाल–भारत सीमा नजिकैको इलाका प्रहरी कार्यालय जयसपुर चौकी पुनः मर्मत गरि सञ्चालन गरिएको छ ।

अमेरिकामा बसोबास गर्ने नेपालीहरूले करिब दुई लाख १६ हजार सङ्कलन गरी सहयोग पठाएपछि सो भवनमा रंगरोगन तथा आवश्यक सामग्री खरिद गरेर सञ्चालन गरिएको  जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले बताउनुभयो।

उहाँले अमेरिकामा रहेका २१ जना नेपालीको योगदानमा सो रकम सङ्कलन भएको जनाउँदै दशैँ–तिहार जस्ता चाड पर्व नजिकिँदै गर्दा सुरक्षामा देखिएको चुनौतीलाई सहज बनाउन सहयोग गर्नेप्रति आभार व्यक्त गर्नुभयो ।

सो सहयोग संकलनमा स्थानीय पत्रकार आशिष मल्ल ठकुरीले सहजिकरण गर्नुभएको थियो । उता, आन्दोलनका क्रममा सरकारी कार्यालयमा तोडफोड र आगजनी गर्नेहरूमध्ये हालसम्म ४ जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ