विनय कर्ण
कल्याणपुर (सप्तरी), असोज १७ गते । वडा दसैँको अवसमा सप्तरीस्थित विभिन्न शक्तिपीठहरुमा १४ हजारभन्दा बढी पशुपंछीको बली प्रदान गरिएको छ । रोगबाट मुक्ति, निसन्तानले सन्तानको प्राप्ति, व्यापार ब्यवसायमा वृद्धि, रोजगारको प्राप्ति र दुख निवारणको लागि गरिने भाकल स्वरुप भक्तजनले दसैँका बेला शक्तिपिठहरुमा बली प्रदान गरेका हुन् ।
जिल्लास्थित प्रसिद्ध शक्तिपीठहरु मध्ये छिन्नमस्ता भगवतीको मन्दिरमा ४ हजार १ सय ५९ खसीबोकाको बली प्रदान भएको पिठाधिश महाकान्त ठाकुरले जानकारी दिनुभयो । गत उक्त मन्दिरमा १० हजारको हाराहारीमा खसीबोकाको बलि प्रदान भएको थियो ।
यस्तै अर्का शक्तिपीठ हनुमाननगर कंकालिनी नगरपालिका स्थित कंकालिनी मन्दिरमा ६ सय ८९ रांगा र ८ हजारको हाराहारीमा खसीबोकाको बली प्रदान भएको मन्दिर विकास समितिका अध्यक्ष श्यामसुन्दर मंडलले जानकारी दिनुभयो ।
गत बर्ष सो मन्दिरमा ६२८ वटा रांगाको बली प्रदान भएको थियो ।
राजविराज नगरपालिका स्थित चण्डी भगवती मन्दिरमा १ सय १४८ खसी बोकाको बली प्रदान भएको मन्दिरका मुल पुजारी दुर्गानन्द मिश्रले जानकारी दिनुभयो । राजविराजकै अर्को राजदेवी मन्दिरमा ६९७ खसीबोकाको बली प्रदान भएको मुल पुजारी भोलाप्रसाद चौधरीले बताउनुभयो ।
यस्तै डाक्नेश्वरी नगरपालिका स्थित डाक्नेश्वरी मन्दिरमा ८५५ खसीबोकाको बली प्रदान भएको मुल पुजारी बुलु चौधरीले जानकारी दिनुभयो । यसका अतिरिक्त उक्त शक्तिपीठहरुमा सयौंको संख्यामा कुखुरा, परेवा र हाँसको समेत भक्तजनहरुबाट बली प्रदान गरिएको सम्बद्ध मन्दिरका पुजा समितिले जनाएको छ ।