• १७ असोज २०८२, शुक्रबार

२० बढी स्थानमा सरायँ नाच प्रदर्शन

blog

गुल्मीको परम्परागत सरायँ नाच । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), असोज १७ गते । दसैंमा घर आएकाहरु सरायँ नहेरी गन्तव्यमा फर्किदैनन् । गुल्मी पश्चिममा सरायँ प्रख्यात नाच हो । दसैंको टीकाको भोलिपल्टबाट पूर्णिमासम्म जिल्लाका  २० बढी स्थानमा सरायँ खेलिन्छ । 

विभिन्न कोत तथा शक्तिपिठ र सार्वजनिक क्षेत्रमा बाजाको साथमा हतियार नचाएर खेलिने सरायँले सबैतिर रौनकता थप्ने गरेको छ । सरायँ हेर्न अत्यधिक मानिसको भिड हुने र घटनाहरु हुने भएकाले उच्च सुरक्षा सतर्कता अपनाइएको छ । 

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार जिल्लाभर चाडपर्वलाई केन्द्रित गरेर ३५० प्रहरी परिचालन गरिएको छ । अग्रभागमा नेपाल प्रहरी परिचालन हुने र आवश्यक परे सशस्त्र प्रहरी पनि तयारी अवस्थामा रहेको अधिकारीले बताउनुभयो । सरायँकै क्रममा २०८० कार्तिकमा अर्खबाङ्गका १२ डियुटीमा रहेका प्रहरीमाथि कुटपिट भएको थियो । केही समय अगाडि नयाँ गाउँमा प्रहरीको ज्यान जाने गरेर कुटपिट भएको थियो । 

सरायँका हुने ठाउँमा समिति र स्थानीय तहसँग मातहत प्रहरी युनिट र जिल्लाबाट समन्वय भइरहेको ढुक्क रहन प्रहरी उपरीक्षक अधिकारीले आम गुल्मेली नागरिकलाई आग्रह गर्नुभयो । दसैँ मनाउन घर फर्किएकाहरू यो नाच सकिएपछि मात्र आ–आफ्नो कर्मथलो फर्किने गरेको पाइन्छ । गुल्मीको इस्मा गाउँपालिकाका इस्मामैदान, ठाढुङ्गा, मल्दी, बुल्मलगायतका स्थानमा सरायँ खेल्न गरिन्छ । 

मालिका गाउँपालिकाका अर्जे, घमिर, अर्खाबाङ्ग, छापमा सरायँ हुनेगरेको छ । रेसुङ्गा नगरपालिकाका भुजेलखर्क, धागिथुम, उनायचौर, जोगिथुम, भगवती मन्दिर लगायतका स्थानमा सरायँ हुँदैआएको छ । धुर्कोटको धुर्कोट जैसिथोक, अजमिर, मदानेका भनभने, अग्लुङ र सिर्सेनीमा सरायँ हुनेगरेको मदाने गाउँपालिका उपप्रमुख सरिता खड्काले जानकारी दिनुभयो । 


मुसिकोटका पौदी अमराइ बाङ्गे, थाम, मुसिकोट देउराली र बडागाउँमा सरायँ हुँदैआएको छ । गुल्मी पूर्वमा छत्रकोटको चोयँगामा भब्य सरायँ हुने गरेको छ । परम्परागत हतियार खुँडा र खुकुरी जुधाएर बाजासहितको तालमा ‘वाख्यै–वाख्यै’ भन्दै नाच्ने भएकाले साहसिक कला प्रदर्शनको रुपमा सरायँलाई लिन सकिने इस्मा गाउँपालिका(४ का ७८ बर्षिय डम्बर बस्नेतले बताउनुभयो । 

हतियारहरू शक्तिपीठ र विभिन्न मठ–मन्दिरबाट निकालिन्छ । पुस्तान्तरण नभएकाले यो नाच संकटमा छ । केही स्थानमा युवाहरु परम्परा जोगाउनभन्दा पनि फोटा र सोख देखाउन मात्र सरायँ खेल्दा संस्कृति लोप हुने खतरा बढेको बस्नेतले बताउनुभयो ।