साहारा लिम्बू
फुङलिङ, असोज १७ गते । ताप्लेजुङमा शुक्रबारदेखि असोज २० गतेसम्म विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार यस अवधिमा ताप्लेजुङसहित देशका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको हुँदा सम्भावित प्राकृतिक बिपद्बाट जोगिन जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जिल्लावासीलाई असोज २० गतेसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको हो ।
अत्यन्त जरुरी अवस्थाबाहेक घरबाट टाढा र रातिको समयमा यात्रा नगर्न तथा वर्षा र बाटोको अवस्था हेरेर मात्र सवारी साधन सञ्चालन गर्न जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले आग्रह गरेको छ । यस्तै सम्भावित बाढीपहिरोको जोखिम आइहाले आवश्यक उपकरण र जनशक्तिसहित तुरुन्त परिचालित हुन सरोकारवाला पक्षलाई सजग गराएको छ।
विपद् आइहाले राहत तथा उद्धारका लागि आवश्यक जनशक्ति र उपकरणसहित तुरुन्त परिचालित हुन जिल्लास्थित नेपाली सेनाको दुर्गादल गुल्म, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ र सशस्त्र प्रहरी बल नेपाल नं। १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घा, नेपाल रेडक्रस सोसाइटी सहितका सामाजिक सङ्घसंस्थालाई निर्देशन दिइएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले बताउनुभयो ।