• १७ असोज २०८२, शुक्रबार

संखुवासभामा उच्च सतर्कता अपनाउन आग्रह

blog

सुजन बज्राचार्य

संखुवासभा, असोज १७ गते । जिल्ला प्रशासन कार्यालय संखुवासभाले जिल्लावासीलाई असोज १७ देखि २० गतेसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । 

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार यस अवधिमा संखुवासभासहित देशका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको हुँदा सम्भावित प्राकृतिक बिपद्बाट जोगिन प्रशासनले सचेत रहन आग्रह गरेको हो ।

प्रशासनले जारी गरेको सूचनामा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, पहिरो वा डुबान जोखिम क्षेत्रका बासिन्दाले सुरक्षित स्थानको पहिचान राख्न तथा आवश्यक परेमा तत्काल सर्ने तयारी गर्न अनुरोध गरिएको छ ।

त्यस्तै, सडक अवरुद्ध हुने अवस्था आउन सक्ने भएकाले तत्काल प्रयोग गर्न मिल्ने गरी डोजर, लोडर लगायतका उपकरण तयारी अवस्थामा राख्न र साझेदार निकाय तथा संस्थालाई विपद् व्यवस्थापन समितिको सम्पर्कमा रहन आग्रह गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाद्वारा बिहीबार जारी गरिएको सूचनामा विपद् वा आपत्कालीन अवस्था उत्पन्न भएमा जिल्ला प्रहरी कार्यालय वा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रमा तुरुन्त जानकारी गराउन समेत अनुरोध गरिएको छ ।