• १७ असोज २०८२, शुक्रबार

दसैंमा जिउँदो माछाको दर्शन : सुख–समृद्धिको प्रतीक

blog

कपिलबस्तुको सदरमुकाम तौलिहवामा माछा दर्शन गराउदै बालकालिका । तस्विरः नारद कोहार

नारद कोहार

तौलिहवा (कपिलबस्तु), असोज १७ गते । दसैं पर्वमा कपिलवस्तुलगायत तराईका विभिन्नक्षेत्रमा जिउँदो माछाको दर्शन गर्ने परम्परा रहेको छ । स्थानीय विश्वासअनुसार दसैंको दिन बिहानै जिउँदो माछा देख्न पाउनु शुभ मानिन्छ । यसलाई परिवारमा शान्ति, सुख र समृद्धि आउने विश्वास गरिन्छ । 

दसैंमा घर–घरमा टीका–जमरा लगाउने, देवीको पूजा गर्ने परम्परा मात्र नभई गाउँका बालबालिका तथा युवाले साना गाग्री, डब्बा वा बोतलमा माछा राखेर बजार र गल्लीमा घुमाउँदै दर्शन गराउने चलन पनि छ । स्थानीय जयप्रकाश पाण्डेका अनुसार दर्शन गर्नेहरूले केही पैसा चढाउने, बालबालिकालाई मिष्ठान्न दिने परम्परा कायम रहेको बताउनुभयो ।

सांस्कृतिका जानकार पशुपतिमणि त्रिपाठीका अनुसार यो प्रथा कृषिप्रधान समाजसँग जोडिएको बताउनुभयो । उहाँले पानी तथा माछा जीवनको आधार मानिएको र धान खेतीसँग यसको प्रत्यक्ष सम्बन्ध रहेको बताउनुभयो । माछालाई उर्वरता र उत्पादनशीलताको प्रतीकका रूपमा व्याख्या गरिएको सांस्कृतिका जानकारहरु बताउनुहन्छ ।

तराई क्षेत्रमा मात्र नभई भारतको बिहार, उत्तरप्रदेश लगायत सीमावर्ती क्षेत्रमा पनि दसैं (दुर्गापूजा) र तिहार (दीपावली) को अवसरमा जिउँदो माछा देख्नलाई शुभ मानिन्छ । कतिपय स्थानमा त बालबालिकाले “माछा दर्शन” भन्दै घरघर गएर माछा देखाउने र दक्षिणा संकलन गर्ने चलन रहिआएको छ ।

समाजशास्त्रीहरूले यस्तो प्रथाले सांस्कृतिक विविधता मात्र होइन, सामुदायिक एकता र परम्परागत आस्थालाई समेत बलियो बनाउने बताएका छन् । आधुनिकता र व्यस्ता जीवनशैलीका कारण धेरै परम्परा हराउँदै गए पनि दसैंमा जिउँदो माछा देखाउने चलन अझै पनि गाउँमा रमाइलो र रोचक रूपमा निरन्तर रहेको छ ।