• १७ असोज २०८२, शुक्रबार

गुल्मी तम्घास क्षेत्रमा सिसिटिभी क्यामेराको माग

blog

गुल्मीको सदरमुकाम तम्घास क्षेत्र । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी),असोज १७ गते । गुल्मीको सदरमुकाम तम्घास र मुख्यनाकामा १७ वटा सिसिटिभी क्यामेरा जडान गर्न स्थानीयले माग गरेका छन् । सुरक्षाका दृष्टिकोणले महत्त्वपूर्ण उपकरण सिसिटिभी क्यामेरा बाख्रेछेडा र खानीगाउँ दोबाटोमा दुई दुईवटा सिसि क्यामेरा आवश्यक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

उदिनढुङ्गा, जिपपार्क र फिल्म हल, हस्पिटल लाइनमा दुई दुईवटा र गरिमा विकास बैंक क्षेत्रमा एउटा सिसिटिभी क्यामेरा जडान गर्नुपर्ने आवश्यकता रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिनुभयो । सदरमुकाम तम्घासका मुख्यनाका देउराली, नेटा र बाघमारेमा दुई दुईवटा सिसिटिभी क्यामेरा जडान गर्नुपर्ने प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

अहिलेसम्म २२ वटा सिसिटिभी क्यामेरा छन् । जिल्ला प्रशासन क्षेत्रमा चार तथा भगवती मन्दिर, बसपार्क, मिलनचोक, क्याम्पस रोड, र चिदिचुर रोडमा दुई दुईवटा क्यामेरा जडान गरिएको छ । खानीगाउँ, नयाँबजार, भिमचोक, भुतबङगाला, पुरानो बजार र अर्घाखाँची जिपपार्क क्षेत्रमा एक एकवटा क्यामेरा रहेका छन् । 

प्रहरी निरीक्षक थापाका अनुसार जिल्लामा जिल्ला प्रहरी कार्यालयसहित दुई (क) दुई र (ख) बर्गका दुई दुईवटा इलाका प्रहरी कार्यालय रहेका छन् । हरीचौकी १६, अस्थायी प्रहरी चौकी पाँच र बिट सातवटा रहेका छन् । ती मध्ये आफ्नो भवनमा १२ र अरुको भवन तथा भाडामा २० प्रहरी कार्यालय रहेको थापाले बताउनुभयो । 

प्रहरी कार्यालयसँग सुरक्षाको हिसाबले सिसिटिभी क्यामेरा राख्ने स्थानको पहिचान गरे पनि खरिद गरेर जडान गर्ने आर्थिक स्रोत छैन् । बिगतमा पनि विभिन्न स्थानीय तह र संघ संस्थाले क्यामेरा सहयोग गरेकाले अहिले पनि आवश्यक स्थानमा क्यामेरा समन्वय गरेर जडान गरिने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । क्यामेराको कारण घटना नहुने र जस्तोसुकै घटना भएपनि प्रहरीले अपराधी पहिचान गर्न सजिलो हुने भएकाले सुरक्षाका महत्त्वपूर्ण उपकरण जडान गर्नुपर्ने बताउनुभयो।