रमेश विश्वकर्मा
गुल्मी, असोज १६ गते। वर्षायाम सुरु भएदेखि हालसम्म गुल्मीका मुख्य सडक ७१ पटक अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगा सारुका अनुसार गत जेठ महिनादेखि हालसम्म ७१ पटकमा ४६० घण्टा मूख्य सडक अवरुद्ध भएका हुन्।
वर्षायामको समयमा सबैभन्दा बढी गुल्मी खण्डको कालिगण्डकी करिडोर अवरुद्ध भएको हो। गत जेठ महिनादेखि भदौ महिनासम्म यो सडक ३३ पटकमा २८४ घण्टा अवरद्ध भएको उहाँले जानकारी दिनुभयो। विशेषगरी कालिगण्डकी करिडोरको गुल्मी खण्डको गरगरे, राक्से, मुल्क र कनौटामा पटक-पटक पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ। यसरी करिडोरको सडक अवरुद्ध हुँदा स्थानीय तथा करिडोर हुँदै हिँड्ने यात्रुले निकै सास्ती खेपेका थिए। त्यसैगरी, रुद्रवेणी-वामीटक्सार सडक २६ पटकमा १२० घण्टा अवरुद्ध भएको थियो।
विशेषगरी यस सडकमा पर्ने डहरे खोलामा पानीको बहाव बढ्नुका साथै विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको थियो।
वर्षामाय सुरु भएदेखि हालसम्म मदन भण्डारी राजमार्ग अन्तर्गत रिडी-तम्घास सडक छ पटकमा ३९ घण्टा अवरुद्ध भएको थियो। धुर्कोट-तम्घास सडक दुई पटकमा आठ घण्टा, शान्तिपुर-चोरकाटे सडक एक पटकमा चार घण्टा, पुर्कोटदह-तम्घास सडक एक पटकमा एक घण्टा र रिडी-खर्ज्याङ दुई पटकमा चार घण्टा अवरुद्ध भएको छ। विभिन्न स्थानमा पहिरो खस्दा यी सडकहरु अवरुद्ध भएका प्रहरी नायब उपरीक्षक सारुले जानकारी दिनुभयो। प्रहरीको सक्रियतामा अवरुद्ध भएका सडकलाई सञ्चालनमा ल्याइएको थियो।