• १६ असोज २०८२, बिहिबार

जस्पुरमा मनाइयो २५८ औं सिन्धुलीगढी विजयोत्सव

blog

२५८ औं सिन्धुलीगढी विजयोत्सवमा सहभागी स्थानीयहरु ।

गोरखापत्र अनलाइन

सिन्धुलीगढी, असोज १६ गते । विश्वमा पहिलो पटक अंग्रेज फौजलाई परास्त गरेको सम्झनामा २५८ औं सिन्धुलीगढी विजयोत्सव मनाइएको छ । सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानले आफ्नो पुर्ख्यौली थलो ढोर जस्पुरमा एक समारोहको आयोजना गरी सिन्धुलीगढी विजयोत्सव मनाइएको हो ।  

सिन्धुली गढीमा १८२४ असोज १५ गतेका दिन गोर्खाली फौजले अंग्रेज फौजलाई पराजित गरेको थियो । गोर्खाली फौजका सिकारी सरदार वंशु (वंश) गुरुङ (लेम) को नेतृत्वमा अंग्रेज फौज परास्त गरेको इतिहास छ । सोही दिनको सम्झनामा प्रतिष्ठानले हरेक वर्ष असोज १५ गतेका दिन विजयोत्सव मनाउँदैआएको छ । 

यस वर्ष पनि दसैंको नवमीका दिन असोज १५ परे पनि प्रतिष्ठानले कार्यक्रम आयोजना गरी आफ्नो पुर्खाले गरेको विजयको स्मरण गरेको छ । अंग्रेजविरुद्ध गोर्खाली फौजले विजय प्राप्त गरेको दिन भएपनि विजयोत्सव भने विभिन्नि मितिमा मनाउने गरिएको छ । समयानुकुलतालाई ध्यानमा राख्दै सिन्धुलीगढीमा विजयोत्सव कात्तिक २४ गते मनाउँदैआएको छ । 

प्रतिष्ठान मातहत रहेको वंशुपार्कमा गरिएको कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका निवर्तमान नगरप्रमुख किसन गुरुङले स्वागत मन्तव्य राख्नुभयो । उपस्थित सम्पूर्णले वंशुको शालिकमा माल्यार्पण गर्दै सम्मान गरेका थिए । सिन्धुलीगढी युद्धमा वंशुलगायत वीर योद्धाहरुले गरेको योगदानको स्मरण गर्दै कार्यक्रमका प्रमुख अतिथि शुक्लागण्डकी नगरपालिका वडा १२ का वडाध्यक्ष इन्द्र गुरुङ, शैक्षिक व्यक्तित्व रुपबहादुर गुरुङ लगायतले मन्तव्य राख्नुभएको थियो ।  

प्रतिष्ठानका अध्यक्ष क्या. लालजंग गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा काठमाडौंबाट आएका प्रतिष्ठानका शुभचिन्तक ज्ञानी लामालाई प्रतिष्ठानको तर्फबाट जस्पुरे अग्रज भद्रसिंह गुरुङबाट सम्मान गरिएको थियो । कार्यक्रम विनु गुरुङले सञ्चालन गर्नुभएको थियो ।  

कार्यक्रममा जस्पुरेहरुको सक्रिय सहभागिता थियो । पोखरा, काठमाडौंलगायत स्थानबाट वंशुप्रति सम्मान प्रकट गर्न स्थानीयहरु जस्पुर आइपुगेका थिए । कार्यक्रममा दसैंको अवसरमा शुभकामना आदान प्रदान गरिएको थियो ।