• १६ असोज २०८२, बिहिबार

आठपहरिया समुदायले मनाउँदैनन् दसैं

blog

धनकुटा नगरपालिका –७ स्थित चुलिवनमा निर्माण गरिएको रामलिहाङ र रिदामा आठपहरियाको शालिक । तस्बिरः सन्तोष सुवेदी

सन्तोष सुवेदी

पाख्रीबास (धनकुटा), असोज १६ गते । आज बडा दसैंको दशौं दिन अर्थात् विजया दशमी । नेपालीहरुको महान चाडले सबैलाई छोएको छ । मान्यजनको हातबाट दसैंको टीका, जमरा लाउन तथा आशीर्वाद लिने गर्दछन् । तर, धनकुटामा बसोबास गर्ने आठपहरिया समुदायले दसैं मनाउँदैनन् । 

आज बडा दसैंको दशौं दिन अर्थात विजयदमीको दिन देशैभर नेपालीहरुले मान्यजनको हातबाट टीका, जमरा लाउने तथा आशीर्वाद लिने लिइरहेका छन् । तर सबैलाई दसै लागिरहँदा धनकुटाका आदिवासी आठपहरिया राईले दसैं मनाउने गरेका छैनन् । धनकुटा नगरपालिकामा मात्रै बसोबास रहेका आठपहरिया करिब ८ हजारको हाराहारीमा यो जातिको बसोबास रहेको अनुमान छ । 

उनीहरुले कहिल्यै पनि दसैं मनाएका छैनन् । दसैंको सन्दर्भ आउनासाथ जंगबहादुर राणाको समयमा मारिएका दुई सांस्कृतिक सहिद रामलिहाङ र रिदामाको प्रसङ्ग आठपहरिया समुदायमा आइहाल्छ । 

वि.सं. १९३३ सालमा दसैं नमान्दा रामलिहाङ र रिदामा आठपहरियालाई धनकुटामा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो । आठपहरिया समुदायमा यो विषय स्थापित छ । रामलिहाङ र रिदामा आठपहरियाका पुजारी थिए । दुवैले अनिवार्य रुपमा दसैं मनाउन जारी गरिएको सरकारी आदेशको अवज्ञा गरेपछि झुन्ड्याएर मारिएको किराँत आठपहरिया समाज धनकुटाका अध्यक्ष अष्टमान आठपहरियाले बताउनुभयो ।

धनकुटा नगरपालिकानजिक रहेको चुलीवनमा राणाकालमा मानिस झुन्ड्याएर मार्ने ठाउँ भएकाले ठाउँको नाम पनि झुण्डगाउँ राखिएको छ । रामलिहाङ र रिदामालाई पनि झुन्ड्याएर मारिएको कथनबाट यी दुई कुनै काल्पनिक पात्र नभई वास्तविक साँस्कृतिक सहिद हुन भन्ने लागेको किराँत आठपहरिया समाजका केन्द्रीय महासचिब सूर्य आठपहरियाले बताउनुभयो । 

दसैं लादिएको पर्व भएकाले सरकारी प्रयासको अवज्ञा गर्दा दुई व्यक्तिको प्राण हरिएको इतिहास रहेको उहाँको भनाइ छ । आठपहरियाहरुमा दसैं भने लादिएको पर्व भनेर मानिन्छ । राजा राजेन्द्रविक्रम शाहको समयमा जारी एक रुक्का यसको प्रमाण भएको उहाँको भनाइ छ ।  

उनीहरुको आफ्नै वडाङ्मेट चाड रहेको र यो चाड करिब एक महिनासम्म मनाउने गरिन्छ । उनीहरु वडाङ्मेट चाड आफ्नै तरिकाले मनाउने गरेका छन् । यो चाडको अवसरमा धनकुटा नगरपालिकाले नगरक्षेत्रमा दुई दिनसम्म सार्बजानिक बिदा दिने गरेको छ । 

देशमा आएको संघीयतापछि धनकुटाको चुलिवनलाई सहिद रामलिहाङ र रिदामा स्मृति पार्क घोषणा गरिसकिएकोे छ । धनकुटाका आठपहरियाहरु आफ्नो परम्परा, भाषा र सँस्कृतिप्रति मरिमेट्ने जाति हुन् । उनीहरूले वैशाख पूर्णिमा, भदौरे पूर्णिमा र मंसिरे पूर्णिमालाई भब्यतापूर्वक मनाउने गरेका छन् ।