विनय कर्ण
कल्याणपुर (सप्तरी), आसोज १६ गते । सप्तरीको कञ्चनरुप नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । नगरपालिकाको वडा ७ स्थित मनिरको हार्डवेयर पसलमा काम गर्ने सोही ठाउँका २३ बर्षीय मो. राजाबुलको करेन्ट लागेर मृत्यु भएको हो ।
बुधबार साँझ उहाँ बाटोको बायाँपट्टी रहेको अर्को पसलमा विद्युत तार तान्दै हुनुहुन्थ्यो । सोही क्रममा तारको डल्लो बनाई पोलमा फाल्दा सो तार ११ हजार मेगावाट उच्च क्षामताको भोल्टेज लाइनमा परेर करेन्ट लागेर घाइते हुनुभएको थियो ।
गम्भीर घाइते भएका राजाबुललाई उपचारका लागि धर्मेश्वर अस्पताल ठेलिया लगिएको थियो । प्रारम्भिक उपचारपछि थप उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउँदा उपचारकै क्रममा उहाँको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । मृतकको शव पोष्टमार्टमपछि परिवारलाई बुझाइएको उहाँले बताउनुभयो ।