डुम्रे (तनहुँ), असोज १६ गते । दशैँ र तिहारको आगमनसँगै गाउँघरमा पिङ हाल्ने परम्परा नेपालीको मौलिक संस्कृति हो । पिङ नेपालीको संस्कृति र परम्पराको अभिन्न हिस्सा मानिन्छ । तर, समयको परिवर्तन, आधुनिकीकरण र युवा पुस्ताको प्रवास बसाईले यो परम्परा क्रमशः लोप हुँदै गएको छ ।
लोपोन्मुख अवस्थामा पुगेकाले स्थानीय युवाले पिङ संरक्षणमा सक्रिय भूमिका खेल्दै यस परम्परालाई निरन्तरता दिएको भानु नगरपालिका–१२ स्थित घलेछाप युवा क्लबका अध्यक्ष कुशलचन्द्र अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “पिङ बिना गाउँमा दसैँ जस्तो लाग्दैन । लोप हुन नदिन समुदायबाट बाँस र डोरीको सहयोग जुटाएर लिङ्गे पिङ हालिएको हो ।” क्लबले घलेछाप पुतली चौतारामा पिङ हालिसकेको छ ।
यस्तै, बन्दीपुर गाउँपालिका–२ स्थित चामुण्डा युवा क्लबका पिङ निर्माण समिति संयोजक नरेश बानियाले मौलिक संस्कृतिको संरक्षणका लागि पिङ बनाउने परम्परालाई निरन्तरता दिइएको बताउनुभयो । खर्च जुटाएरै भए पनि परम्परालाई निरन्तरता दिदै आएको उहाँको भनाइ छ ।
स्थानीय बुढापाकाको अनुभव अनुसार केही वर्षअघिसम्म गाउँ–चोकमा सहजै देखिने पिङ अहिले हराउँदै गएको छ । व्यास–७ कलेस्तीका प्रदीप घिमिरेले दसैँ र तिहारमा पिङमा मच्चिने रमाइलो परम्परा अहिले लोप हुँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँघरमा नै चर्के पिङ, रोटे पिङ, लिङे पिङ देखिदैनन् । हाम्रा परम्परालाई संरक्षण गर्नुपर्ने अवस्थामा पुगेको छ । संरक्षण गर्न सकिएन भने पछिल्ला पुस्ताका लागि पिङ कथा जस्तै लाग्नेछन् ।”
पिङ निर्माणका लागि बलियो सालको काठ आवश्यक पर्छ । त्यसका लागि वन कार्यालयको अनुमति लिनुपर्ने हुन्छ । जनशक्ति र सीपको कमी, प्रविधिको विकास र आधुनिक मनोरञ्जनका विकल्पले गर्दा पनि पिङ लोप हुने खतरा बढ्दै गएको छ ।
पिङ वर्षौ पुरानो र जीर्ण अवस्थामा पुग्न लागेकाले संयमित भएर खेल्न र खेलाउन आग्रह गरिएको चामुण्डा युवा क्लबका पिङ निर्माण समिति संयोजक नरेश बानियाले बताउनुभयो । उहाँका अनुसार मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी खेल्न तथा खेलाउन पूर्ण रुपमा रोक लगाइएको छ । उहाँले भन्नुभयो, “हर्षोल्लासका साथ दसैँ, तिहार मनाउन राखिएको पिङको पनि संरक्षण गर्दै सम्भावित दुर्घटनालाई न्यूनीकरणमा समेत आफैँ सचेत हुनुपर्छ ।” रासस