अनिल पराजुली
हेटौँडा, असोज १६ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले चाडपर्वहरूले राष्ट्रिय एकता सुदृढ गर्न मद्दत पुग्ने बताउनुभएको छ ।
नेपाली हिन्दुहरूको महान् चाड विजयादशमी, २०८२ को सुखद उपलक्ष्यमा शुभकामना दिर्दै उहाँले चाडपर्वहरूबाट नेपाली समाजको मौलिक पहिचानको रूपमा रहेको जातीय, भाषिक भौगोलिक, सामाजिक र सांस्कृतिक विविधता बिच आपसी सद्भाव सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
“चुनौतीलाई अवसरमा बदल्न दसैँ लगायतका सांस्कृतिक पर्वहरूको भावात्मक भूमिका महत्त्वपूर्ण रहेको तथ्य हामीले बिर्सन हुँदैन,”–मुख्यमन्त्री बानियाँले भन्नुभयो ।
विजयादशमीलाई आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विकास गर्ने अवसरका रूपमा मनाउन सम्पूर्ण आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूमा अनुरोध गर्दै विजयादशमीको उहाँले शुभकामना व्यक्त गर्नुभएको छ ।
“नेपाल यति वेला लामो राजनीतिक परिवर्तनबाट प्राप्त गणतन्त्र, सङ्घीयता, समावेशिता, सामाजिक न्यायसहितको संविधानको स्वीकार्यता बढाएर संविधानको कार्यान्वयन गर्ने चरणमा छ, राजनीतिक परिवर्तनसँगै परम्परागत मूल्य, मान्यता, संस्कार र पर्वहरूलाई संस्कारयुक्त बनाउन पनि जरुरी छ,”– मुख्यमन्त्री बानियाँले भन्नुभयो ।
उहाँले हाम्रा मौलिक पर्वहरूभित्र रहेका सकारात्मक र मानवीय जीवनको समृद्धि र विकासका लागि मूल्यवान् संस्कार र शैलीहरूको संरक्षण गर्दै त्यसभित्र विद्यमान रूढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा पुनर्विचार गर्नुपर्नेमा जोड दिँदै हाम्रा मूल्य, मान्यता र संस्कारहरूलाई थप बलियो र जीवनमुखी बनाउन सक्नेमा विश्वास व्यक्त गर्नुभयो ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवम् बहुसांस्कृतिक विविधताले भरिपूर्ण एक सुन्दर राष्ट्र हो, विजयादशमी, शुभ दीपावली, नेपाल संवत्, छठ पर्व, ल्होसार जस्ता पर्वहरूका आफ्नै मौलिकता तथा मूल्य मान्यताहरू छन्, विविधतायुक्त विशेषताहरू बिचको एकता हाम्रो सांस्कृतिक धरोहर हो,–मुख्यमन्त्री बानियाँले भन्नुभयो ।
उहाँले सबै जाति, भाषा, संस्कृति र सभ्यताहरूको संरक्षण र विकास गर्नु हाम्रो दायित्व रहेको स्पष्ट पार्दै दसैँ लगायतका हाम्रा सांस्कृतिक पर्वहरूले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पु¥याउँदै आएको बताउनुभयो । उहाँले राष्ट्रिय एकता हासिल गर्दै समृद्धि सहितको सामाजिक परिवर्तनलाई संस्थागत गर्न बागमती प्रदेश सरकार दृढ संकल्पित रहेको स्पष्ट पार्नुभयो ।